काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिर्कत (सीओओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुत्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन् ।
नव नियुक्त सीओओ ठकुरीले यसअघि नबिल बैंकमा १८ वर्ष भन्दा लामो समय काम गरेका थिए । ठकुरीसँग कार्ड तथा डिजिटल भुक्तानीको क्षेत्रमा दशक लामो अनुभव रहेको छ ।
उनले सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा लामो अनुभव बटुलेका छन् । ठकुरीको प्रवेशपछि फोनपेको सेवा थप सहज बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल पाँच लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० ओटा बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन् । फोनपे विश्वविख्यात डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसीआईडीएसएसभी थ्रीटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।