close

एकजना फोटोग्राफरले यसरी बनाएका थिए चर्चित ब्याटल रोयल गेम पब्जी

टेकपाना टेकपाना

फागुन १९, २०७८ २०:४४

एकजना फोटोग्राफरले यसरी बनाएका थिए चर्चित ब्याटल रोयल गेम पब्जी

काठमाडौं । केही वर्षयता ब्याटल रोयल गेममा धेरै नै प्रगति भएको छ र छोटकरीमा पब्जी भनेर चिनिने प्लेयर अननोन ब्याटलग्राउण्ड सबैभन्दा चर्चित बन्यो । धेरै खेलाडी मिलेर खेलिने र अन्तिमसम्म बाँच्ने खेलाडीले जित्ने खालका भिडिओ गेमलाई ब्याटल रोयल गेम नाम दिने गरिएको छ । 

पब्जीमा  १०० जना खेलाडी एउटा प्लेनमा लगिन्छ र उनीहरू प्लेनबाट प्यारासुटको सहायताले मैदानमा उत्रिन्छन् । गेममा उनीहरूले आफू बाँच्नका लागि घरभित्र गएर बन्दुक, ग्रिनेड ,मेडिकिट तथा भेस्ट हेलमेट लिएर अरुलाई मार्नुपर्ने हुन्छ र आफू चाहिँ अन्तिमसम्म जोगिनुपर्ने पर्ने हुन्छ ।

जो अन्तिमसम्म बाँच्छ, उसैले यो गेम जित्छ । पब्जीको यो सामान्य नियमसँग अपरिचित कमै होलान् । नयाँ पुस्ताको मन जित्न सफल पब्जी गेम खेल्दा जति रोचक छ, त्यत्तिकै रोचक यो कसरी बन्यो भन्ने कथा पनि छ । 

पब्जी बनाउनमा सबैभन्दा ठूलो हात कसैको छ भने ती हुन्–ब्रेनडन ग्रीन । उनलाई प्लेयर अननोन भनेर पनि चिनिन्छ । उनी आयरल्याण्डमा जन्मिएका हुन् ।

उनी फोटोग्राफर र वेब डेभलपरको रुपमा काम गर्न ब्राजिल पुगेका थिए । दक्षिण अमेरिकी राष्ट्रमा उनले कामको अवसरसँगै प्रेमिका भेट्टाए र त्यहिँ बिहे गरे । तर यो सम्बन्ध दुई वर्ष पनि टिक्न सकेन र उनी फेरी आफ्नो जन्मथलो आयरल्याण्ड फर्किए ।

उनी आफ्नो कामका साथै समय मिलेको बेला गेम पनि खेल्ने गर्थे । यसैक्रममा उनले आफ्नो ध्यान गेम बनाउनतर्फ लगाए । उनले आर्मा टु को मोडमा आधारित रहेर डे जेट ब्याटल रोयल बनाएका थिए ।

उनले यो मोड जापानी फिल्म ब्याटल रोयल र द हङ्गर गेम उपन्यासबाट प्रेरित भएर बनाएका थिए । यो मोड नै त्यस समयको उनको ठूलो सफलतामा परिणत भयो ।

यसपछि उनलाई विभिन्न कम्पनीहरूबाट कामका लागि बोलाउन थालियो । यसै क्रममा उनले सोनी अनलाइनमा काम गर्न थाले । सोनीमा काम गर्दा उनले किङ अफ द हिल गेम बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

तर पनि त्यहाँ आफूले सोचे अनुरूप काम गर्ने वातावरण नमिल्दा उनले सोनी छोड्नु पर्‍यो । केही महिनापछि उनी कोरिया पुगे । उनलाई कोरियामा काम गर्नको लागि ब्लुहोलबाट अफर आएको थियो ।

ब्लुहोलमा उनले क्रियटिभ डाइरेक्टरको रूपमा काम गरे । सन् २०१६ को मध्यतिर एक वर्षमा सकाउने उद्देश्यले पब्जीको काम सुरु भयो ।

नभन्दै २३ मार्च २०१७ मा पब्जी कम्युटर गेमको बेटा भर्सन सुरु गरियो र प्रचारप्रसार गर्ने उद्देश्यले युटुबरलाई सुरुमै पहुँच दिइयो । यसले २० डिसेम्बर २०१७ मा आफ्नो पूर्ण भर्सन सबैका लागि उपलब्ध गरायो ।

पब्जीले एक वर्ष भित्र कम्प्युटर र एक्सबक्स वानमा विश्वव्यापी ५० मिलियन प्रति बेच्न सफल भयो । पब्जीको मोबाइल भर्सन  भने ९ फेब्रुअरी २०१८ मा सार्वजनिक भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२