काठमाडौं । पब्जीको मुख्य कम्पनी क्राफ्टनले भर्खरैमात्र सन् २०२१ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार पब्जीले सन् २०२० को तुलनामा ठूलो आम्दानी गर्न सफल भएको छ ।
त्यसभन्दा पनि पब्जीले कम्प्युटर तथा कन्सोलमा आधारित गेमभन्दा मोबाइलमा आधारित गेमको बजार ठूलो रहेको दृष्टान्त प्रस्तुत गर्न सफल भएको छ । प्रतिवेदन अनुसार सन् २०२१ कम्पनीका लागि अहिलेसम्मकै सबैभन्दा फलदायी वर्ष सावित भएको छ ।
कम्पनीले पब्जीमार्फत मात्रै १.५७ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनमा १३ प्रतिशत बढी हो । त्यसमध्ये ४३ करोड ४८ लाख डलर नाफा भएको जनाइएको छ ।
युवाहरू माझ समेत निकै परिचित गेम हो, पब्जी । खाली समयमा साथीभाइसँग पब्जी खेलेर समय बिताउने जमात नेपालमा ठूलै छ । पब्जी डाउनलोड गरेर खेल्न तपाईँलाई कुनै पैसा लाग्दैन ।
यसो भनिराख्दा तपाईँको मनमा पब्जीले यति धेरै पैसा चाहिँ कसरी कमाउँछ भन्ने लाग्न सक्छ । आज हामी तपाईँलाई पब्जीले पैसा कसरी कमाउँछ भन्ने विषयमै चर्चा गर्दै छौँ ।
पब्जीको मुख्य आम्दानीको स्रोत भनेको इन एप पर्चेज (In App Purchases) हो । खेलाडीहरूले गेम भित्र गर्ने खर्चलाई नै इन एप पर्चेज भनिन्छ। कम्पनीले सन् २०२१ मा पब्जीमा पैसा तिरेर प्रयोग गर्नुपर्ने केही फिचरहरू थप गरेको थियो ।
खेलाडीहरूले रोयल पास किन्दा होस् वा गेमभित्र विभिन्न गन स्किन, कपडा ,क्रेट र इमोट खरिद गर्दा नै किन होस् ,उनीहरूले आफ्नो केही न केही पैसा खर्च गरेका हुन्छन् । यही नै पब्जीका लागि आम्दानीको मुख्य स्रोत हो ।
पब्जीले गत जनवरीमा मात्रै खेलाडीले यसरी गरेको खर्चबाट २३ करोड ७० लाख रुपैयाँ कमाएको थियो । पब्जीको अर्को आम्दानीको स्रोत भनेको प्रमोसन हो । पब्जीले बेलाबेलामा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्छ ।
त्यसैअनुसार यसले आफ्नो ब्याकग्राउन्ड ,ब्याकग्राउन्ड गीत र गेमका सामग्रीहरूमा लोगो तथा कम्पनीको प्रतिनिधित्व हुने सामग्री राख्दछ । त्यस बापत पब्जीले राम्रो शुल्क लिने गर्दछ ।
यसको एउटा उदाहरण बेला बखत परिवर्तन भइरहने प्यारासुट, गनको स्किन र नयाँ नयाँ बन्डललाई लिन सकिन्छ । यसले कमाउने अन्य स्रोतको कुरा गर्नुपर्दा पब्जीले ठूला ठूला पब्जी टुर्नामेन्टहरू (प्रतियोगिता) गराइरहेको हुन्छ ।
जसमा कम्पनीले स्पोन्सरशिपबाट पैसा कमाउँछ । आफ्नो लोगो छापिएको सामग्री तथा गेमिङ ग्याजेट यसको कमाउने अर्को माध्यम हो ।