काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकले दुवाकोटदेखि काठमाडौंको चन्द्रागिरीसम्म सञ्चालनमा ल्याएको बस सेवामा जीपीएस जडान गरिने भएको छ ।
ऋद्धिसिद्धि यातायात प्रालिसँगको सहकार्यमा २२ वटा बस यो रुटमा सञ्चालन गर्न लागिएको हो । यी बस चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सिकोला, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्कीहुँदै थानकोटसम्म पुग्ने सोही रुटबाट यो बस दुवाकोट फर्कने बताइएको छ ।
यो रुटमा सञ्चालन हुने बसमा नगरपालिकाले जीपीएस ट्रयाकिङ प्रणाली जडान गरेर सवारीको उपलब्धताको विषयमा निगरानी तथा नियमन गर्ने तयारी रहेको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले बताए ।
‘यो रुटमा आजदेखि सञ्चालनमा आएका २२ वटा बसमा जीपीएस जडान गरेर सवारी कहाँ पुगे, सबै सवारी सञ्चालनमा छन् कि छैनन् लगायतका विषयमा नियमन गर्नेछौं,’ उनले भने, ‘हामीले तयार गरेको एपमार्फत हामी सञ्चालित गाडीहरूको गतिविधि थाहा पाउन सक्छौं । यसका लागि छुट्टै कर्मचारी नै राखेर निगरानी गर्ने योजनामा छौं ।’
साथै यो रुटमा हिँड्ने यात्रुहरूले पनि गाडी कहाँ आइपुग्यो, कता-कता छ अथवा गाडीको लोकेसन हेरेर कुर्ने वा अन्य विकल्प हेर्ने भन्ने कुराहरूमा सहज हुने उनले बताए ।
नगरपालिकाको आफ्नै मोबाइल एप भोलि औपचारिक रुपमा सार्वजनिक गरिने उनले बताए ।