close

स्मार्टफोनबाट एउटै क्लिकमा धेरै फोटो र भिडिओ खिच्न मिल्ने टुल

हरिजङ्ग थापा हरिजङ्ग थापा

फागुन २६, २०७८ १२:४४

स्मार्टफोनबाट एउटै क्लिकमा धेरै फोटो र भिडिओ खिच्न मिल्ने टुल

काठमाडाैं । जीवनका विभिन्न पलहरु फोटो तथा भिडिओमा कैद गरेर तत्काल सोसल मिडियामा पोस्ट गर्न स्मार्टफोनले एकदमै सजिलो बनाएको छ। तर कुनै माहोल यस्तो हुन्छ, जसको फोटो र भिडिओ दुवै भइदिए हुन्थ्यो भन्ने लाग्छ । हो यही कुरालाई सम्बोधन गर्न सामसङका ग्यालेक्सी फोनको क्यामेरामा सिङ्गल टेक मोड राखिएको छ ।

सिङ्गल टेक एउटा यस्तो फिचर हो, जसले सिङ्गल ट्यापमा मल्टिपल फोटो र भिडिओ उपलब्ध गराउँछ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को सहायताले सिङ्गल टेकमा खिचिएको भिडिओबाट स्वचालित रुपमा विभिन्न फोटो तथा भिडिओ फाइलहरु प्राप्त हुन्छन् ।

कुनै यस्तो परिस्थितिमा हुनुहुन्छ, जसको तपाईं विभिन्न स्वरुपको फोटो र भिडिओ एकैसाथ चाहनुहुन्छ भने सिङ्गल टेकले तपाईंको त्यस्तो चाहना पुरा गरिदिन्छ ।

जस्तैः कुनै एक्सन हुँदैछ, जुन एकदमै छोटो समयमा बितेर जान्छ । यस्तो अवस्थामा फरक-फरक एंगलको फोटो खिच्न भ्याइँदैन । भिडिओ खिचेको खण्डमा भिडिओ मात्रै आउँछ, त्यसबाट विभिन्न एंगलका फोटोहरु निकाल्न मिल्दैन । हो यस्तो अवस्थाका लागि सिङ्गल टेक मोड एकदमै उपयोगी हुन्छ ।

सामसङ ग्यालेक्सी फोनहरुको क्यामेरामा गएपछि त्यहाँ तपाईंले सुरुमै सिङ्गल टेक मोड देख्न सक्नुहुन्छ । सिङ्गल टेक मोडमा गएपछि त्यहाँ ५ देखि १५ सेकेण्डसम्मको टाइमर सेट गर्न मिल्छ । यसरी टाइमर सेट गरेर जब हामी क्यामेरा रोल गर्छौं, मेन क्यामेरासँगै अल्ट्रावाइडको पनि प्रयोग हुन्छ ।

कैद भएको फाइलबाट एआईको सहायताले घटीमा दुई र बढीमा तीनवटा भिडिओ र ६ वटा फोटो उपलब्ध हुन्छन् । सिङ्गल टेक फाइलबाट AI Best Moments फोटोसँगै Smart Crop र अन्य विभिन्न फिल्टर प्रयोग भएका फोटोहरु पाइन्छ ।

त्यस्तै त्यही फाइलबाट नर्मल भिडिओसँगै Boomerang र Music सहितको फास्ट फर्वार्ड भिडिओ पनि उपलब्ध हुन्छ । अर्थात १५ सेकेण्डमा फोटो र भिडिओका टन्नै अप्सनहरु पाइन्छ । जसलाई हामीले बिना इडिट सजिलै सोसल मिडियामा शेयर गर्न सक्छौं ।

त्यसैले सिङ्गल टेक मोडले तपाईंको कुनै पनि पललाई मिस हुन दिँदैन । बरु महत्वपूर्ण पललाई एंगलमा सुरक्षित गर्न मद्दत गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२