close

३१ सेकेन्डमै ह्याक हुन्छ सात क्यारेक्टर मुनिका पासवर्ड

टेकपाना टेकपाना

फागुन २६, २०७८ १७:४६

३१ सेकेन्डमै ह्याक हुन्छ सात क्यारेक्टर मुनिका पासवर्ड

काठमाडौं । सामाजिक सञ्जाल होस् या बैंकिङ कारोबारका एप, यसमा प्रयोग हुने पासवर्डले निकै महत्व राख्छ । त्यसैले पनि साइबर सुरक्षा विज्ञहरूले तपाईंलाई बलियो पासवर्ड राख्न सुझाव दिँदै आएका हुन्छन् । जसले तपाईंको अकाउन्टलाई सुरक्षित राख्न मद्दत पुर्‍याउँछ ।

त्यसका लागि तपाईंले राख्ने पासवर्डमा ‘अपर’ र ‘लोअर’ अर्थात ठूला र साना दुवै अक्षरलाई समेट्न आवश्यक छ । साथै त्यसमा अंक र कुनै सिम्बोललाई समेत समावेश गर्न विज्ञहरूले सुझाव दिन्छन् ।

यसरी सबै कुरालाई समावेश गर्दा पनि कतिपय अवस्थामा तपाईंको पासवर्ड ह्याक भइरहेको हुन्छ । त्यसको कारण पासवर्डमा प्रयोग हुने अक्षरको संख्या पनि एक हो ।

साइबर सुरक्षा कम्पनी ‘हाइभ सिस्टम’ का अनुसार यदि तपाईंले आठ क्यारेक्टर अथवा त्योभन्दा मुनिको पासवर्ड राख्नुभएको खण्डमा त्यस्ता पासवर्ड ह्याक गर्न ह्याकरलाई एक घण्टा पनि लाग्नेछैन ।

अध्ययनका अनुसार ८ क्यारेक्टरको पासवर्ड ह्याक गर्नका लागि जम्मा ३९ मिनेट लाग्नेछ ।

त्यस्तै सात अक्षरको पासवर्ड ह्याक गर्नका लागि ३१ सेकेण्डमात्रै भए पुग्नेछ । ६ र त्योभन्दा मुनि अक्षरका पासवर्ड ह्याक गर्न तुरुन्तै ह्याक हुने जनाइएको छ ।

तर, यसका लागि ह्याकरसँग उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ प्रविधि भने आवश्यक हुने जनाइएको छ । सँगै पासवर्ड सहज भएपनि त्यसमा प्रयोग भएको क्यारेक्टर अर्थात अंक, ‘अपर’ र ‘लोअर’ केश र सिम्बोलको प्रयोगले भने पासवर्डलाई बलियो बनाउने अध्ययनले देखाएको छ ।

यदि कसैले १८ अंक पासवर्ड राखेर छ भने उक्त पासवर्ड पत्ता लगाउने तीन हप्ता लाग्नेछ । तर, सोही नम्बरको पासवर्डमा ‘अपर’ र ‘लोअर’ केश र सिम्बोल समेत मिसाइएको छ भने लाखौं वर्ष लाग्ने जनाइएको छ ।

त्यसैले पनि छोटा पासवर्डको तुलनामा लामो पासवर्ड बलियो हुने भन्दै विज्ञले लामो पासवर्ड प्रयोग गर्न आग्रह गर्दै आएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२