close

युक्रेनी प्रयोगकर्ताको डेटा सुरक्षित छ : टेलिग्राम

टेकपाना टेकपाना

फागुन २७, २०७८ १२:३

युक्रेनी प्रयोगकर्ताको डेटा सुरक्षित छ : टेलिग्राम

काठमाडौं । मेसेजिङ एप टेलिग्रामले युक्रेनी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने प्रतिबद्धता जनाएको छ । कम्पनीका सह-संस्थापक पावेल डुरोभले टेलिग्राम पोस्टमार्फत युक्रेनका प्रयोगकर्ताको डेटा पूर्णरुपमा सुरक्षित रहने बताएका हुन् ।

पावेल हाल दुबईमा बस्दै आएका छन् । दुबईमा बस्दै आएको भएपनि उनी रूसी नागरिक हुन् । यस्तोमा रूस र युक्रेनबिच जारी अवस्थालाई लिएर टेलिग्रामको विषयमा निकै प्रश्न उठ्दै आएको थियो । यस्तोमा डुरोभले आफू जस्तोसुकै अवस्थामा पनि प्रयोगकर्ताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म जस्ताेसुकै अवस्थामा पनि आफ्ना प्रयोगकर्ताको पक्षमा उभिन्छु,’ उनले लेखेका, छन्,’ उनीहरूको गोपनीयताको हक अहिले पहिलेभन्दा झन् पवित्र छ ।’

तर, विज्ञहरूले भने टेलिग्रामको सिस्टममा प्रश्न उठाएका छन् । प्रतिस्पर्धी म्यासेजिङ एप सिग्नल तथा ह्वाट्सएपले प्रयोग गर्दै आएको इन्क्रिप्सन सिस्टम निर्माण गर्ने मक्सी मार्लिनस्पाइकले ट्वीटरमार्फत् टेलिग्राम इन्क्रिप्टेड एप नभएर क्लाउड डेटावेसमा आधारित म्यासेज आदानप्रदान गर्ने माध्यममात्रै भएको बताएका छन् ।

टेलिग्रामले आफ्नो सम्पूर्ण डेटा क्लाउडमा भण्डारण गर्दै आएको छ । हुन त उक्त क्लाउड सुरक्षित रुपमा इन्क्रिप्सन गरिएको हुन्छ । यस्तोमा केही फिचरमा मात्रै कम्पनीले इन्ड-टु-इन्ड इन्क्रिप्सन उपलब्ध भएकाे उनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२