काठमाडाैं । प्राविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टको नाम नसुन्ने मान्छे सायदै होलान् । के तपाईंले सोच्नुभएको छ, यति परिचित कम्पनीको हेडक्वार्टर (मुख्यालय) कहाँ अनि कस्तो होला ? यसभित्र के के होलान् ?
यसका बारेमा कहाँबाट सुरु गर्ने भन्ने विषयमा निकै धर्मसंकट पर्छ । किनभने यसबारे भन्नुपर्ने कुरा कति छन् कति ! माइक्रोसफ्टको हेडक्वार्टर यति भव्य छ कि, यसलाई सानो सहरको उपनाम नै दिइएको छ ।
यसमा भएका तमाम बिल्डिङलाई लिएर होस् वा त्यहाँ उपलब्ध उन्नत प्रविधिको कुरा होस्, यसको चर्चा भइरहन्छ ।
माइक्रोसफ्ट सिटीमा भएको भव्य महल होस्, वा त्यहाँ भएको बिल लेक (Bill Lake), भवनभित्रको हाई-फाइभ गल्ली होस् वा मेकर्स ग्यारेज, वा अनौठो बिल्डिङ ८७, जहाँ विभिन्न परियोजनाबारे खोज गरिन्छ, यी सबैले माइक्रोसफ्टको भव्यतालाई अझ उचाइ थपिदिएका छन् ।
आजको यस लेखमा हामी माइक्रोसफ्ट हेडक्वार्टरकै अन्वेषण गर्छौं । यसभित्र के के छन् ? कुन प्रयोजनका लागि निर्माण गरिएका हुन् ? भविष्यमा के के बन्दैछन् वा हालसालै के के भइरहेकाे छ भन्ने विषयमा चर्चा गर्छौं ।
१. माइक्रोसफ्ट क्याम्पस
माइक्रोसफ्ट क्याम्पस निकै नै भव्य छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र पल एलेनले यस्तो ठाउँ खोजिरहेका थिए, जहाँ आफ्नो कम्पनी बनाउन सकियोस् । त्यसका लागि उनीहरूले वासिङ्टनको सिएटल रेडमन्डमा रहेको कुखुरा फर्म भएको क्षेत्र रोजे ।
फेब्रुअरी १९८६ मा त्यो कुखुरा फर्म विशाल ६ वटा भवनमा परिणत भयो ।
समय बित्दै जाँदा माइक्रोसफ्ट क्याम्पस ५०० एकडमा भू-भागमा फैलियो । हाल १२० भवन रहेको माइक्रोसफ्ट क्याम्पसमा सुरुवाती दिनमा जम्मा ६ वटा मात्र थिए ।
कुनै बेला ८०० जना मात्र अट्नसक्ने माइक्रोसफ्ट क्याम्पसमा हाल ५० हजारभन्दा बढी मान्छेहरू अट्छन् ।
त्यसैले पनि माइक्रोसफ्ट क्याम्पसलाई सानो सहर पनि भन्न सकिन्छ । विश्वविद्यालयजस्तै यसमा पनि तमाम भवन हुनुले यसलाई माइक्रोसफ्ट क्याम्पस भनिएको हो । सुरुवातमा कम्पनी सानो क्षेत्रमा फैलिएको भएर त्यस्तो कुनै ठाउँ नाम विशेष केही राखिएको थिएन ।
भवनको सङ्ख्या बढाउँदै गएपछि त्यहाँ भएका थुप्रै कुरालाई रोचक तथा हसाउने खालका नाम राख्न थालियो । जस्तै हाइ-फाइभ हलवे (High-Five Hallway) , मेकर्स ग्यारेज (Maker’s Garage), बिल लेक (Bill Lake) ।
२. बिल्डिङ ९२
यसको नाम कसरी बिल्डिङ ९२ रहन गयो भन्ने कुराभन्दा पनि यो किन निर्माण गरियो वा यसमा के छ भन्ने कुराबारे चर्चा गरौं । यदि तपाईं माइक्रोसफ्ट अफिस भ्रमण गर्न जानुभयो भने तपाईंको यात्रा बिल्डिङ ९२ बाट सुरु हुन्छ ।
भ्रमणमा जानेहरूकाे यात्रा बिल्डिङ ९२ बाट नै किन सुरु हुन्छ होला ? यसको पछि केही कारण छ कि ? हो, पर्यटकले माइक्रोसफ्ट भ्रमणका लागि यात्रा बिल्डिङ ९२ बाट सुरु गर्नुपर्ने हुन्छ ।
किनभने यो बिल्डिङ विशेषतः पर्यटक वा वा अगन्तुकका लागि निर्माण गरिएको हो । यसलाई माइक्रोसफ्ट भिजिटर सेन्टर पनि भनिएको छ ।
बिल्डिङ ९२, जसलाई बिल गेट्सले बनाए, त्यसको डिजाइन यसरी गरिएको छ कि पर्यटकले त्यहाँको दृष्य देखेर माइक्रोसफ्ट कत्तिको भव्य छ भन्ने कुराको आभास गर्न सकुन् ।
माइक्रोसफ्ट हेडक्वार्टर यति ठूलो छ कि, हिँडेरै यात्रा तय गर्छु भन्नु एक मूर्खता जस्तै हुन्छ । यसका लागि त्यहाँ थुप्रै हाइब्रिड मिनिबस राखिएका छन् । उच्च प्रविधि र आनन्दमय यात्राले माइक्रोसफ्ट भ्रमण अझ भव्य बनाइदिन्छ ।
साथै ती बसभित्र डिजिटल क्यूआर कोड पनि राखिएका छन् । जसको प्रयोग गरेर तपाईंको अनुभव कस्तो भयो भन्ने कुराको रेटिङ दिन सक्नुहुन्छ ।
३. कम्पनीको संग्रहालय
बिल्डिङ ९२ को भ्रमणपछि घुम्नैपर्ने ठाउँ माइक्रोसफ्टको संग्रहालय हो । त्यहाँ घुम्न जाने पर्यटकले माइक्रोसफ्टले सुरुवाती चरणमा कसरी सफलता पाएको थियो भन्ने कुराको थुप्रै महत्वपूर्ण जानकारी पाउनेछन् ।
यदि त्यहाँ पर्यटकलाई ती इतिहास, सफलता, उतारचढावका कुरा पढ्दा अल्छि लाग्यो भने विभिन्न अनलाइन गेम, जस्तै फोर्जा रेसिङ, माइनक्राफ्ट खेल्न सक्छन् ।
यदि कोहीलाई गेमिङतिर केही चासो छैन भने माइक्रोसफ्टले उनीहरूका लागि पनि विशेष व्यवस्था गरेको छ ।
गेमिङ, होहल्ला मन नपराउनेका लागि माइक्रोसफ्टले छुट्टै ठाउँको उपलब्ध गराएको छ । जहाँ उनीहरू आफूलाई कसरी सफल बनाउने, त्यसका लागि उनीहरूसँग के-के योजना छन्, ती सबैलाई प्रचार गर्न माइक्रोसफ्टले बनाएका ग्याजेट र लिङ्कडिन प्रयोग गर्न सक्नुहुन्छ ।
माइक्रोसफट क्याम्पसलाई भव्य बनाउन बिल गेट्स विभिन्न उपाय निकाली रहन्छन् । जसले पूर्ण रूपमा कम्पनीलाई नौलो स्वरूपमा अगाडि बढाइरहेको हुन्छ । पप कल्चर देखाउन कम्पनीले वाक अफ फेम निर्माण गरेको छ ।
हलिउड वाक अप फेमजस्तै, त्यहाँ बिल्डिङ १६ को बाहिर प्यानल राखिएका छन् । बाहिर राखिएका प्यानलमा सफलताको लामो यात्रामा घटेका सम्पूर्ण कुरा अंकित छन् ।
सफलताको कुरा गरिरहँदा सन् २०२० मा ५०० वटा कम्पनीमध्ये आम्दानीको आधारमा माइक्रोसफ्ट २१ नम्बरमा परेको थियो ।
५. बिल्डिङ ८
माइक्रोसफ्ट कम्पनीको बिल्डिङ ८ ले बिल गेट्सको जीवनमा धेरै नै महत्वपूर्ण भूमिका खेलेको छ । बिल गेट्सले मेलिन्डा फ्रेन्च गेट्सलाई भेटेका थिए । बिल गेट्सको प्रेम कथा यही बिल्डिङबाट सुरु भएको थियो ।
केही नामी र चर्चित साइटले मेलिन्डा र बिल गेट्स त्यही बिल्डिङमा ओभरटाइम काम गर्ने गरेको खुलाएका छन् । यसलाई अरूभन्दा पनि बिल गेट्स अफिसका नामले बढी चिन्ने गरिन्छ ।
६. बिल्डिङ ७
यो माइक्रोसफ्ट कम्पनीको अनौठो संरचनामध्येको एक हो । यी तपाईं माईक्रोसफ्ट कम्पनी भ्रमणमा हुनुहुन्छ र कसैले तपाईंलाई बिल्डिङ ७ भ्रमणका लागि प्रस्ताव राख्यो भने सोझै अस्वीकार गर्नुहोला । किनभने बिल्डिङ ७ अस्तित्वमा नै छैन ।
यो अस्तित्वमा नभई यसलाई यहाँ किन उल्लेख गरियो भन्ने प्रश्न आउनसक्छ । त्यसको उत्तर हामीसँग छ । बिल्डिङ ७ किन अस्तित्वमा छैन भन्नेबारे धेरै नै सिद्धान्तहरू छन् ।
केही मानिसका अनुसार सरकारले अनुमति नदिएको भएर बिल्डिङ ७ नबनेको भन्ने छ भने केहीले नम्बर नै भुलेर नबनाएको भन्ने बताउने गरेका छन् ।
यो केवल शब्दमा मात्र सीमित छ । किनभने यो नम्बरसँग माइक्रोसफ्टको निकै ठूलो लगाव छ । यसकारण यो बिल्डिङ अस्तिवमा नभएर शब्दमा मात्र सीमित छ ।
७. बिल्डिङ ८७
माइक्रोसफ्ट क्याम्पसको सबैभन्दा महत्वपूर्ण बिल्डिङमध्ये बिल्डिङ ८७ पनि एक हो । यो बिल्डिङ यसकारण महत्वपूर्ण छ कि, ठूला ठूला गोप्य खोज यसै बिल्डिङमा गरिन्छ । यात्रीहरूलाई यस बिल्डिङमा घुम्ने अनुमति छ/छैन त यत्तिकै भन्न सकिँदैन, किनभने कम्पनीले यसबारे कहिँ कतै केही खुलाएको छैन ।
यसमा निकै नै महत्वपूर्ण परियोजनाहरू समाहित छन् । साथसथै यसमा मनावसँग सम्बन्धित डेटा भण्डारण गरिएका छन् । यहाँ के के हुन्छ वा के के भण्डारण गरिएका छन् भन्नेबारे यत्तिक्कै बन्न सकिँदैन ।
माइक्रोसफ्टको सबैभन्दा महत्वपूर्ण भवन भएकाले यसमा जे छ निकै महत्वपूर्ण छ भन्ने कुरा भने अनुमान गर्न सकिन्छ ।
८. द मेकर्स ग्यारेज
माइक्रोसफ्टले रचनात्मक क्रियाकलापलाई कसरी अगाडि बढाएको हुन्छ भन्ने कुराको एक महत्वपूर्ण अंश हो, द मेकर्स ग्यारेज ।
द मेकर्स ग्यारेजमा सम्पूर्ण इन्जिनियर एक ठाउँमा भेला हुन्छन् र आफ्ना विचार के कस्ता छन् भन्नेबारे छलफल गर्छन् । माइक्रोसफ्टका एक कर्मचारीले भने, ‘माइक्रोसफ्टमा मेकर्स ग्यारेज हुनु एक गर्वको विषय हो । किनभने यसमा सबै कर्मचारीले आफ्ना साेचलाई उत्पादन (व्यवसाय) मा रूपान्तरण गर्न सक्छन् ।’
यति मात्र नभई, द मेकर्स ग्यारेजमा कोही कर्मचारीलाई विचार साट्नमा रूचि छैनन् भने उनीहरू आनन्दित बन्न भर्चुअल गेम पनि खेल्न सक्छन् ।
इन्जिनियरहरू प्रायः धेरै समय कम्प्युटरमा बसेर काम गरिरहने भएकाले उनीहरूको स्वास्थ्यमा समस्या आउनसक्छ भन्ने लागेको हुनसक्छ ।
त्यसका लागि माइक्रोसफ्टले भौतिक खेलको पनि व्यवस्था गरेकाे छ । उनीहरू त्यहाँ भलिबल, बास्केटबल, सफ्टबल लगायत खेल्न सक्छन् । साथै उनीहरूलाई दौडनका लागि थुप्रै रनिङ ट्रेल्स निर्माण गरिएका छन् ।
तपाईँहरूलाई माथि उल्लेख भएको शब्द क्याम्पस किन आयो भन्ने लागेको हुनसक्छ । माइक्रोसफ्ट अफिसभित्र विश्वविद्यालयमा हुने सम्पूर्ण सुविधा भएकाले त्यसलाई क्याम्पसको उपनाम दिइएको हो ।
९. द कमन्स मल
अब जाऔँ माइक्रोसफ्ट हेडक्वार्टरकै सबैभन्दा महत्वपूर्ण र रोचक ठाउँमा । द कमन्स मल १.४ वर्ग किमि क्षेत्रफलमा फैलिएको दुईतले भवन हो । एउटा प्राविधिक कम्पनीमा सम्पूर्ण मल हुनु अनौठो कुरा हो ।
प्राविधक कम्पनी भएकाले दिनभर वा काम गर्ने समयमा कर्मचारी कम्प्युटर अघि बसेर काम मात्र गरिरहनु पर्छ वा कुनै ल्याबमा बसेर परीक्षण गरिरहन पर्छ भन्ने भ्रम छ भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसलाई गलत सावित गरिदिएका छन् ।
यहाँ मलभित्रै कर्मचारी वा सर्वसाधारणलाई आवश्यक हुने सम्पूर्ण कुरा समावेश छन् ।
यदि कसैलाई पार्टी गर्नपर्यो वा रमाइलो गर्नपर्यो भने उनीहरूले मलभित्रको कुनै रेस्टुरेन्टमा पार्टी गर्न सक्छन् ।
त्यस्तै उनीहरूलाई आवश्यक कुनै पनि कुरा त्यही मलबाट किन्न सक्छन् । यति मात्र नभएर यदि उनीहरूको बाइक, कार मर्मत गर्नुपर्यो भने मलभित्रै सुविधा छ ।
त्यस्तै त्यहाँ आउने मानिसले हेयरकट गर्न सक्छन् । आफूलाई आवश्यक लुगा किन्न सक्छन् । भान्साका आवश्यक कुरा किन्न सक्छन्
यहाँ सबै कुरा पाइन्छन्, तर सबै कुरामा पाइन्छ भन्दैमा नयाँ आईफोन वा म्याकबुक पाउने आश गर्नु बेकार हुन्छ । किनभने तपाईंलाई थाहा नै होला माइक्रोसफ्ट र एप्पल कम्पनीको सम्बन्ध खासै राम्रो छैन ।
१०. ट्री हाउस कार्यलय
माइक्रोसफ्टले जतिको प्रविधि र नयाँ आविष्कारमा ध्यान दिन्छ, त्यत्तिकै प्रकृति र प्राकृतिक स्रोतलाई पनि ध्यान दिन्छ । त्यसको उदाहरण हो, माइक्रोसफ्ट ट्री हाउस अफिस । यस ट्री हाउसमा थुप्रै मिटिङ रूम समावेश छन् ।
माइक्रोसफ्टका कर्मचारीले एउटा राउन्ड टेवलमा बसेर मिटिङ गर्न सक्छन् ।
यदि कर्मचारीलाई त्यस कोठाभित्र आफ्ना विचार र योजना बाँड्दा अल्छी लागेको छ भने बाहिर निस्केर ताजा हावा लिन सक्छन्, जसले उनीहरूलाई रिफ्रेस बनाउँछ ।
त्यस्तै त्यहाँ सुनिने चराको चिरबिर आवाजले पनि मुड फ्रेश बनाउँछ ।
११. द लेक बिल
माइक्रोसफ्ट हेडक्वार्टरकै सबैभन्दा परिचित पार्क हो, द लेक बिल । यो खुसियाली मनाउने ठाउँका रूपमा चिनिन्छ । माइक्रोसफ्टले जुनबेला अपेक्षा गरेको सफलता पाउँछ, त्यसबेला कम्पनीका सबै कर्मचारी त्यहाँ खुसी बाँड्न आउँछन् ।
आफ्नो सफलतामा खुसियाली मनाउन कम्पनीले अनौठो उपाय निकालेको छ ।
१२. द हाइ-फाइभ हलवे
यो एक प्रकारको गल्ली हो, जुन कम्पनीभित्र अवस्थित छ । यसमा कर्मचारीले केही गर्न पर्दैन । बस अरू कर्मचारीलाई हेरेर मुस्कुराउँदै हाई-फाइभ गर्नुपर्ने हुन्छ ।
तपाईंले बाटो वा घरमा जस्तोसुकै अवस्था सामना गरे पनि माइक्रोसफ्ट कम्पनीको हलवेभित्र प्रवेश गरिसकेपछि मुस्कुराउँदै हाइ-फाइभ गर्नुपर्ने हुन्छ ।
माइक्रोसफ्टको हाई-फाइभ गल्लीले यसको सुन्दरतामा ठूलै भूमिका खेलेको छ ।