काठमाडौं । नागरिकलाई स्वास्थ्यबारे सूचना एवं चेतना दिने उद्देश्यले स्मार्ट हेल्थ नेपाल एप्लिकेसन सञ्चालनमा आएको छ ।
यो एपको माध्यमबाट स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने स्मार्ट हेल्थ नेपालका संस्थापक अध्यक्ष जितेन्द्रकुमार थापाले जानकारी दिए ।
आम नागरिकलाई आवश्यक सेवाभित्र पर्ने आमचासोका विषय जस्तै अस्पताल, चिकित्सक, औषधि, रक्त सेवा दिने निकायलाई प्रभावकारी ढंगवाट सहयोग गर्ने हेतुले सुविधायुक्त प्रविधिमैत्री एप्लिकेसन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरुलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रुपमा हुने उनले बताए ।
स्मार्ट हेल्थ नेपाल एप्लिकेसन नजिकका अस्पताल, औषधि पसल, एम्बुलेन्स सेवाका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो एप प्रयोग गरी आफ्नो शरीरको उचाइ अनुसारको तौलका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।
जसले गर्दा आफ्नो शरीरको उचाइ अनुसारको तौल बनाउने प्रेरणा समेत एप्लिकेसन डाउनलोड गरेका व्यक्तिलाई मिल्ने कुरा एप्लिकेसनका व्यवस्थापक मनिशा श्रेष्ठले स्पष्ट पारिन् ।
यो एपले चिकित्सक र बिरामी, अस्पताल र विरामी, औषधि पसल र बिरामी, प्रयोगशाला जस्ता प्रत्यक्ष रुपमा बिरामीसँग सम्पर्क हुने सेवालाई उच्चस्तरीय सेवा दिने प्रण गरी समन्वय गराउने काम गर्ने कुरा अध्यक्ष थापाले बताए ।