close

प्ले स्टोरबाट हट्यो समलिङ्गी व्यवहार त्याग्न सिकाउने एप

टेकपाना टेकपाना

चैत ४, २०७८ ११:३९

प्ले स्टोरबाट हट्यो समलिङ्गी व्यवहार त्याग्न सिकाउने एप

काठमाडौं । मलेसियाली सरकारले समलिङ्गी समुदायका व्यक्तिलाई प्रकृतिमा फर्काउने भन्दै बनाएको एप गुगलले प्ले स्टोरबाट हटाएको छ ।

‘गे कन्भर्जन’ नामको यो एपले प्ले स्टोरको नियम उल्लंघन गरेको भन्दै गुगलले प्ले स्टोरबाट हटाएको हो । एप पहिलो पटक सन् २०१६ को जुलाईमा सार्वजनिक भएको थियो ।

तर मलेसियाली सरकारको इस्लामिक विकास विभागले ट्वीटरमा यो एप शेयर गरेपछि मात्र यो विषयमा चर्चामा आएको थियो । यो एपले समलिङ्गी समुदायका व्यक्तिलाई आफ्नै प्राकृतिक लिंगमा फर्किन मद्दत पुग्ने दाबी गरिएको थियो ।

उक्त एपमा रमजानको समयमा समलिङ्गी व्यवहार त्याग्नका लागि उपाय भएको ईबुक पनि समावेश छ, जसमा विभिन्न समलिङ्गी पुरुषहरूको अनुभवलाई जोडिएको छ ।

दि गार्जियनमा प्रकाशित समाचार अनुसार गुगलले उक्त एपले आफूहरूको नियम उल्लघंन गरेको पाएपछि हटाएको जानकारी दिएको छ । यस विषयमा हालसम्म इस्लामिक विकास विभागले भने कुनै टिप्पणी दिएको छैन ।

यद्यपि सरोकारवालाहरू भने समलिङ्गीहरूलाई रुपान्तरणमा बढावा दिने जस्तो काम जोखिमपूर्ण हुने र यसले घृणा फैलाउने बताउँछन् । विश्वका धेरैजसो देशमा समलिङ्गी सम्बन्धलाई वैधानिकता दिइसकेको छ ।

यद्यपि धर्म र संस्कारको नाममा समलिङ्गी समुदायलाई भेदभाव गर्ने चलन भने अझै पनि छ । योभन्दा अगाडि पनि प्ले स्टोरले ‘प्रे दि गे’ नामक एप अमेरिकाबाट हटाइसकेको छ, जसले भगवानलाई प्राथना गरेमा आफू समलिङ्गी नरहने दाबी गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३