काठमाडौं । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित भएर स्वास्थ्य प्रविधिमा काम गर्दै आएको नेपाली स्टार्टअप कम्पनी ‘वाइजयाक’ ले दुई लाख ५० हजार अमेरिकी डलर अर्थात तीन करोड लगानी भित्र्याएको छ ।
वाइजयाकमा नेपाली इन्भेष्टमेन्ट कम्पनी ‘टिम भेन्चर’ यो लगानी गरेको हो । वाइजयाकले स्वास्थ्य उद्योगलाई मद्दत पुग्ने गरी एआई र मसिन लर्निङ (एमएल) मा आधारित सफ्टवेयर निर्माण गरेको छ ।
अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धान संस्था, औषधि निर्माता, सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय संस्थालाई मान्य हुने गरी कम्पनीले यो सफ्टवेयर निर्माण गरेको बताएकाे छ ।
आगामी दिनमा विश्व बजारमा स्वास्थ्य प्रविधि तथा एप्लिकेशन उपलब्ध गराउने उद्देश्यसहित अघि बढेको कम्पनीले सेवा विस्तारका लागि यो लगानी भित्र्याएको हो ।
एमएल तथा एआईमा विषयमा ३५ वर्षदेखि काम गर्दै आएका डा. सुरेश मानन्धर लगायतको टिमले यो कम्पनी स्थापना गरेको हो ।
मेडिकल इमेज प्रोसेसिङ तथा यूकेको युनिभर्सिटी अफ योर्कमा एआई अनुसन्धानकर्मीका रुपमा मानन्धरको लामो अनुभवलाई लिएर स्वास्थ्य क्षेत्रमा सफ्टवेयर निर्माणको काम अघि बढाइएको कम्पनीले जनाएको छ ।
यस्तोमा नयाँ लगानी कम्पनीलाई अझ प्रभावकारी र सशक्त बनाउन आवश्यक जनशक्ति निर्माणमा खर्च गरिने कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा सहसञ्चालक डा. हेमन्त श्रेष्ठले बताए ।
उनले विश्वमा एआई र एमएलमा आधारित प्रविधिको प्रयोग ठूलो रुपमा बढ्दै गएको अहिलेको अवस्थामा नेपालमा यो प्रविधि स्वास्थ्य क्षेत्रको लागि नयाँ आयाम हुने बताएका छन् ।