close

दुई दिन पनि टिकेन टेलिग्राम माथिको प्रतिबन्ध

टेकपाना टेकपाना

चैत ८, २०७८ १५:४२

दुई दिन पनि टिकेन टेलिग्राम माथिको प्रतिबन्ध

काठमाडौं । ब्राजिलले सामाजिक सञ्जाल टेलिग्राममाथि लगाएको प्रतिबन्ध दुई दिनपछि फिर्ता लिएको छ । लामो समयदेखि ब्राजिल कंग्रेस र त्यहाँकाे सर्वोच्च अदालतले टेलिग्रामसँग सम्पर्क गर्न खोज्दा कम्पनीका कुनै प्रतिनिधि सम्पर्कमा आएका थिएनन् ।

अदालतको बेवास्ता गरी सम्पर्कमा नआएको भन्दै टेलिग्रामलाई प्रतिबन्ध लगाउने ब्राजिलको निर्णयसँगै कम्पनीका संस्थापक एवं सीईओ पाभेल डुरोभले माफी मागेका थिए ।

‘हाम्रो कमजोरीका लागि म सर्वोच्च अदालतसँग माफी माग्छु,’ उनले भनेका छन्, ‘हामी अदालतले दिएका सबै निर्देशन मान्न तयार छौं ।’

पछिल्लो समय ब्राजिलमा टेलिग्रामको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तोमा ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोको अकाउन्टबाट शेयर गरिएको ‘क्लासिफाइड’ र गलत जानकारी फैलाउने बोल्सोनारोको सहयोगीको अकाउन्ट हटाउन अदालतले टेलिग्रामलाई निर्देशन दिएको थियो ।

तर, टेलिग्रामबाट कुनै प्रतिक्रिया नआएसँगै टेलिग्रामलाई नै प्रतिबन्ध लगाउने निर्णय भएको थियो । तर, सीईओ डुरोभले अदालतबाट आएको ईमेल छुट्दा यस्तो अवस्था आएको बताएका छन् ।

उनले सरकारी निर्णय अनुसार एपमा गलत सूचना फैलाउनबाट रोक्न आवश्यक परिमार्जन भइसकेको बताएका छन् ।

डुरोभको यो प्रतिक्रियासँग आइतबार साँझ नै अदालतले टेलिग्राममाथिको प्रतिबन्धलाई रोक्ने निर्णय गरेको बताइएको छ ।

साथै टेलिग्रामले पनि ब्राजिल सरकारसँग आगामी दिनमा सँगै रहेर काम गर्न तयार रहेको बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२