काठमाडौं । अनलाइन पुलिस क्लियरेन्स रजिष्टेसन सिस्टममा प्रयोगकर्ताले डिस्पोजेबल ईमेल प्रयोग गरी आवेदन दिने गरेको पाइएको छ । सरकारले हाल अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) को सेवा दिन थालेको छ ।
तर कतिपय प्रयोगकर्ताले छोटो समयका लागि प्रयोग गर्न मिल्ने डिस्पोजेबल ईमेलबाट आवेदन दिएको भन्दै प्रहरीले सतर्क गराएको छ ।
केही समयमै बनाउन सकिने डिस्पोजेबल ईमेल एड्रेसका लागि व्यक्तिगत विवरण प्रमाणीकरणको आवश्यकता नपर्ने र निश्चित समयपछि आफैं निष्कृय हुने भएकाले यसकाे प्रयाेग बढ्दाे छ ।
तर यस्तो ईमेलबाट प्रयोगकर्ताको संवेदनशील र गोप्य कागजातमा अनाधिकृत पहुँच पुग्नसक्ने दावी गर्दै प्रहरीले सम्बन्धित आवेदकलाई सचेत रहन आग्रह गरेको छ ।
‘यसको सट्टा व्यक्तिगत ईमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समेत समय-समयमा परिवतर्न गरी अनलाइन रेकर्ड सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।