काठमाडाैं । एनभिदियाले अहिलेसम्मकै फास्ट ग्राफिक्स कार्ड जीफोर्स आरटीएक्स ३०९० टीआई ल्याएको छ । यसलाई जनवरीमा ल्याउने भनेपनि चिप अभावका कारण केही ढिला गरी अहिले ल्याइएको हो ।
यो ग्राफिक्स कार्डमा १०७५२ सीयूडीए कोर दिइएको छ, जुन आरटीएक्स ३०९० को भन्दा धेरै हो । साथै यसमा २१ जीबीपीएस स्पीड भएको २४ जिबी जीडीडीआर सिक्सएक्स (GDDR6X) मेमोरी दिइएको छ ।
योभन्दा पहिले आएको आरटीएक्स ३०९० भन्दा यसको क्लक स्पीडलाई थोरै बुस्ट गरिएको छ । आरटीएक्स ३०९० मा १.७० गिगाहर्ज क्लक स्पीड रहेको थियो भने आरटीएक्स ३०९० टिआईमा १.८६ गिगाहर्जसम्म क्लक स्पीड पाउन सकिनेछ ।
यो ग्राफिक्स कार्डमा थ्रि-एट पिन पावर कनेक्टर दिइएको छ र यसलाई चलाउन ८५० वाटको पावर सप्लाई आवश्यक रहेको छ । यसमा आउटपुट पोर्टको रुपमा दुईवटा एचडीएमआई पोर्ट र तीनवटा डिस्प्ले पोर्ट दिइएको छ ।
ग्राफिक्स कार्ड तात्ने समस्या आउन नदिन यसमा पङ्खाको साथै लिक्कुइड कुलिङ सिस्टम पनि दिइएको छ । साथै यो ग्राफिक्स कार्डमा एटके ६० एफपीएसमा मज्जाले गेमिङ गर्न सकिन्छ ।
तर त्यसका लागि एटके सपोर्ट गर्ने डिस्प्ले चाहिन्छ । यो ग्राफिक्स कार्ड आरटीएक्स ३०९० भन्दा महङ्गो नै छ । यसलाई किन्न करिब दुई लाख ४० हजार नेपाली रुपैयाँ लाग्छ ।