काठमाडौं । गत बिहीबार ह्याक भएको बुढासुब्बा डिजिटल युट्युब च्यानल फिर्ता आएको छ । यो च्यानल नेपालमा सबैभन्दा बढी सब्स्क्राइब भएको युट्युब च्यानलमध्येमा पर्छ । ह्याकरले यो च्यानल आफ्नो नियन्त्रणमा लिएर प्रतिबन्धित क्रिप्टोको लाइभ प्रसारण गरेका थिए ।
नेपाली सिनेमा क्षेत्रका विभिन्न क्षेत्र समेट्ने बुढासुब्बा डिजिटल प्रालिद्वारा सञ्चालित बुढासुब्बा डिजिटल युट्युब च्यानल ह्याक भएपछि धेरैले विभिन्न खालका अड्कलबाजी गरेका थिए । के कारणले युट्युब च्यानल ह्याकरको नियन्त्रणमा पुगेको हो भन्ने विषयमा बुढासुब्बाले खुलाएको छैन ।
ह्याक पश्चात् सो च्यानलमा रहेको ए मेरो हजुर ४ का प्रचार सामाग्री हाइड गरिएको थियो ।
नेपालमा चर्चित मानिएका युट्युब च्यानल ह्याक हुनु भने नौलो कुरा होइन । यसअघि एपीवान एचडी, चर्चित र्यापर भिटेन लगायत अन्य विभिन्न संस्थाका युट्युब च्यानल ह्याक भएका थिए ।
हाल बुढासुब्बा डिजिटल फिर्ता आइसकेको छ । त्यसमा परिवर्तन भएका नाम, डिस्क्रिब्सन् सबै पहिलेकै अवस्थामा आइसकेका छन् भने हाइड भएका ए मेरो हजुर ४ का प्रचार सामाग्री पनि पुनः सार्वजनिक भएका छन् ।