विकिमिडिया फाउन्डेसनले निःशुल्क अनलाइन इन्साइक्लोपेडियाका रुपमा रहेको विकिपिडिया सञ्चालन गर्दै आएको छ । यद्यपि फाउन्डेसनले समुदायको निर्णयअनुसार काम गर्ने र क्रिप्टोकरेन्सीमा प्राप्त हुने सहायतालाई स्थगित गर्ने वा नगर्ने भन्ने विषय अझै अस्पष्ट छ ।
विकिमिडियाका प्रशासक मोलि ह्वाइटले गत जनवरीमा तयार पारेको क्रिप्टोकरेन्सी सहायता सम्बन्धी प्रस्तावमा विकिमिडियाका एडिटरहरूकाे चासो देखिएको हो ।
क्रिप्टोकरेन्सी स्वीकार गर्नु नैतिकताको प्रश्न भएको र बिटक्वाइन तथा इथेरम जस्ता क्रिप्टोकरेन्सी उत्पादन गर्न ऊर्जा खपत हुने भएकाले उक्त कार्य विकिमिडिया फाउन्डेसनको दिगो पर्यावरणप्रतिको प्रतिवद्धता विपरित हुने ह्वाइटले बताएका छन् ।
प्रस्तावको पक्षमा २३२ मत परेको छ भने विपक्षमा ९४ मत छ । यस हिसाबले ७१ प्रतिशत समुदाय प्रस्तावको पक्षमा उभिएको हो ।
‘खासगरी पछिल्लो समयमा खुद्रा लगानीकर्ताहरूबीच बढी लोकप्रिय रहेको क्रिप्टोकरेन्सी निकै जोखिमपूर्ण लगानी हो र त्यसको प्रयोग यो तरिकाबाट नहोस् भन्ने म ठान्छु,’ ह्वाइट भन्छन् ।
उनले ‘वेब थ्रि इज ग्रेट’ (@web3isgreat) नामक ट्वीटर अकाउन्टबाट क्रिप्टोकरेन्सीबाट हुने ठगीको विषयमा तर्कसङ्गत र विस्तृत तवरमा वकालत गर्दै आएका छन् ।
‘मेरो विचारमा तिनलाई स्वीकार गर्नु भनेको ‘इन्भेस्टमेन्ट’ र प्रविधिलाई मूल प्रवाहमा ल्याउनु हो, जुन वास्तविक तवरमा अरुलाई सिकार बनाउनकै लागि आएको हो ।’
विकिमिडिया फाउन्डेसनका अनुसार उसलाई गत वर्षसम्म ३४७ जनाबाट कूल एक लाख ३० हजार अमेरिकी डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी सहयोग प्राप्त भएको थियो ।
जुन फाउन्डेसनको कूल आम्दानीको ०.१ प्रतिशत मात्र हो । ‘डिजिकोनोमिस्ट बिटक्वाइन इनर्जी कन्जम्सन इन्डेक्स‘ अनुसार बिटक्वाइन माइनिङ गर्न वार्षिक रुपमा खपत हुने विद्युतीय ऊर्जा थाइल्यान्डको वार्षिक ऊर्जा खपत बराबर छ ।