काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद गर्ने कुरा पक्का भएपसँगै ट्वीटरका प्रयोगकर्ताको सङ्ख्या अतुलनीय रुपमा वृद्धि भएको छ । यससँगै कम्पनीको विज्ञापनबाट हुने आम्दानी पनि बढेको छ ।
अर्कोतिर भने ट्वीटरको व्यवसाय बजारमा त्यति राम्रो नभएपनि व्यवसायिक रुपमा मस्कले ट्वीटर खरिद गर्ने निर्णय किन लिए भन्ने चर्चा पनि चलिरहेको छ । सन् २०२२ कै पहिलो तीन महिनामा कम्पनीले १.२ अर्ब डलर आम्दानी गर्दा ५१ करोड ३० लाख डलर नाफा कमाएको थियो ।
यो वर्ष मस्कले ट्वीटर खरिद गर्ने भन्ने बित्तिकै ट्वीटर प्रयोगकर्ताको सङ्ख्या पनि तीन करोडले वृद्धि भएको छ । गत वर्ष सम्म १९ करोड ९० लाख प्रयोगकर्ता भएको ट्वीटरको प्रयोगकर्ता सङ्ख्या यो वर्ष बढेर २२ करोड ९० लाख पुगेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार धेरै प्रयोगकर्ता अमेरिका भन्दा बाहिरका रहेका छन् । अमेरिका भन्दा बाहिरका प्रयोगकर्ताको सङ्ख्या १८.१ प्रतिशतले वृद्धि भएको छ । जबकी अमेरिकामा भने ६.४ प्रतिशतले मात्रै प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको छ ।
यही हप्ता मात्रै ट्वीटरको बोर्डले विश्व धनाढ्य एलन मस्कलाई ट्वीटर बिक्री गर्ने निर्णय लिएको थियो । तर प्रयोगकर्ताको सङ्ख्या भने एलन मस्कले ट्वीटर खरिद गर्ने विचार व्यक्त गरेको समयदेखि नै वृद्धि हुन थालेको हो ।