काठमाडौं । फेसबुकमा ‘मिदी’ नामबाट भाइरल भएका किशाेरलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
कपिलवस्तुका वाणगङ्गा नगरपालिका-४ बस्ने १६ वर्षीय नवराज रेग्मीले गत साता फेसबुकमा म्यादी प्रहरीको पोसाक प्रयोग गर्दै भिडिओ बनाएका थिए । जसमा उनले आफ्ना साथीहरूलाई गाँजा सेवन गर्नदेखि आफूलाई जे मन लाग्छ त्यही गर्न भनेका थिए ।
भिडिओ फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल भएपछि निकै आलोचना भएकाे थियाे । त्यसपछि तीव्र गतिमा खोजी थालेको प्रहरीले बुधबार कपिलवस्तुबाट रेग्मीलाई पक्राउ गरेको हो ।
उनले बनाएको भिडिओमा उनी ड्युटी गरेर फर्कदै गरेको जस्तो देखिन्छन् । यद्यपि उनी वास्तविक म्यादी नभएको अनुसन्धानबाट खुलेको छ । नवराजले आफ्नो सामाजिक सञ्जालमा करिब एक मिनेटको भिडिओ अपलोड गरेका थिए । अहिले त्यही भिडिओका केही क्लिपहरू निकै नै भाइरल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार ‘मिदी’ भनेर भाइरल भएका ती युवक वास्तविक म्यादी प्रहरी थिएनन् ।
उनले दाइ नाता पर्नेको बर्दी बाहिर सुकाएको अवस्थामा आफूले लगाइ भिडिओ बनाएका थिए । भिडिओमा प्रतिबन्धित गाँजा सेवनका बारेमा साथीहरूलाई आह्वन गरेको र म्यादी प्रहरीको बर्दीको दुरुपयोग गरेको भन्दै सार्वजनिक अपराधको मुद्दा चलाइएको उनले बताएका छन् ।