काठमाडौं । प्रयोगकर्ताको गोपनीयताका लागि भन्दै गुगलले उपलब्ध गराएको ‘प्राइभेट ब्राउजिङ’ फिचर वास्तवमा गोप्य नभएको टेक्सासका महान्याधिवक्ता केन पेक्सटनले दाबी गरेका छन् । बिहीबार गुगलविरुद्ध मुद्दा दायर गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
टेक्सास, इन्डियाना, वासिङ्टन राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले जनवरीमा गुगलविरुद्ध राज्यको अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए, जसमा गुगले भ्रामक रुपमा लोकेसन ट्र्याकिङको अभ्यास गरेको आरोप लगाइएको छ, जसले प्रयोगकर्ताहरूको गोपनीयतामा आक्रमण गर्दछ ।
पेक्सटनले भने आफ्नो मुद्दामा गुगलको इनकग्निटो मोडको बारेमा पनि उल्लेख गरेको छ । इन्कग्निटो मोड वा ‘निजी ब्राउजिङ’ एक वेब ब्राउजर प्रक्रिया हो, जसले प्रयोगकर्ताको कुनै पनि विवरण रेकर्ड नगर्ने गुगले बताउँछ ।
यद्यपि यो गोप्य नभएको पेक्सटनको मुद्दामा उल्लेख छ । मुद्दामा भनिएको छ कि, गुगलले ‘प्राइभेट ब्राउजिङ’ को नाममा प्रयोगकर्ताहरूको डेटा रेकर्ड गर्ने गरेको पाइएको छ ।
गुगलले भने यो दाबी गलत भएको बताएको छ । आफ्नो प्लेटफर्ममा उपलब्ध गराइएको गोपनीयताको सुविधामा कुनै प्रकारको खेलबाड नगरेको कम्पनीको भनाइ छ ।