काठमाडौं । पब्जी मोबाइलको दक्षिण एसियाली प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप’ को उपाधि मंगोलियन टिम स्टालवार्ट ईस्पोर्टसले जितेको छ । १६ टिम सहभागी प्रतियोगितामा नेपालबाट छ टिमले भाग लिएका थिए ।
यो प्रतियोगितामा पीएमपीएल दक्षिण एसियामा शीर्ष १० स्थानभित्र रहेका टिम र पीएमपीएल पाकिस्तानमा शीर्ष ६ भित्र पर्न सफल टिमले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका छ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरे पनि उपाधि भने जित्न सकेनन् । प्रतियोगितामा नेपाली टिम ट्रेन टु किल (टीटुके)ले दोस्रो स्थान सुरक्षित गरेको छ ।
टीटुकेले २४ गेममा ५ चिकेन डिनर र ११४ इलिमिनेसन सहित २७३ पोइन्ट प्राप्त गरेको थियो । पहिलो भएको पब्जी टिम स्टालवार्टले २४ गेममा ३ चिकेन डिनर र १५७ इलिमिनेसन सहित ३२३ पोइन्ट प्राप्त गरेको छ ।
त्यस्तै ज्यानमारा ईस्पोर्टस २५८ पोइन्टसहित तेस्रो र डीआरएस गेमिङ २२७ पोइन्टसहित छैटौँ स्थानमा रहे । यसैगरी स्काइलाइट गेमिङ, डेडआइ गाइज, हाइ भोल्टेज क्रमशः आठौं, नवौं र १२औं स्थानमा रहे ।
प्रतियाेगिताकाे कूल पुरस्कार राशि एक लाख ५० हजार अमेरिकी डलर रहेको थियो ।
यसअघि गत महिना सम्पन्न पब्जी मोबाइलको दक्षिण एसियाली प्रतियोगिता पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङमा पनि नेपाली टिम उपाधि जित्नबाट चुकेका थिए ।