close

भारतमा पुनः प्रवेश गर्दै टिकटक

टेकपाना टेकपाना

जेठ १९, २०७९ १९:४४

भारतमा पुनः प्रवेश गर्दै टिकटक

काठमाडौं । चिनियाँ एप टिकटक पुनः भारतीय बजारमा प्रवेश गर्ने तयारीमा जुटेकाे छ । टिकटकको अभिभावक कम्पनी बाइटडान्सले यसका लागि भारतमा स्थानीय साझेदार खाेजिरहेकाे खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

भारत सरकारले दुई वर्षअघि राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटककाे ठूलाे बजारका रूपमा रहेकाे भारतले प्रतिबन्ध लगाएपनि टिकटक एकपछि अर्काे गर्दै सफल बनिरहेकाे छ ।

भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्समा प्रकाशित एक खबर अनुसार बाइटडान्स मुम्बईस्थित हिरानन्दनी ग्रुपसँग साझेदारी गर्न छलफलमा जुटेकाे छ । हिरानन्दनी ग्रुपले योट्टा इन्फ्रास्ट्रक्चर सोलुसन अन्तर्गत डेटा सेन्टर सञ्चालन गरिरहेको छ ।

भारतीय प्रयोगकर्ताको डेटा देशमा नै नियमन गर्न सकिने भएकाले यो कम्पनीसँग टिकटकले सहकार्य गर्न लागेको अनुमान गरिएकाे छ ।

तपाईंले भारतमा गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लागेको थाहा पाउनुभएको होला । डेटा सर्भर भारतमा सारेर नाम परिवर्तन गरिसकेपछि यो पुनः भारतमा सञ्चालनमा आएको थियो ।

त्यसैले पनि टिकटक भारतमा पुनः सार्वजनिक हुने चर्चा चल्न थालेकाे छ । भारतले पब्जीलाई डेटा भण्डारण र प्रक्रियाका नीतिहरू परिवर्तन गर्न लगाएर सञ्चालनमा ल्याएको थियो ।

त्यस्तै टिकटक पुनः भारतमा सार्वजनिक भएपछि त्यसले पहिलेका कर्मचारीलाई राख्ने योजना बनाएको छ । भारतका उच्च अधिकारीले भने टिकटक भारतमा सार्वजनिक हुनेबारे आधिकारिक छलफल नभइसकेको प्रतिक्रिया दिएकाे इकाेनाेमिक टाइम्सले जनाएकाे छ ।

एक वक्तव्यमा ती अधिकारीले भनेका छन्, ‘हामीलाई उनीहरूले आफ्नो योजनाका बारेमा जानकारी त दिएका छन् । तर, हामीबीच अहिलेसम्म आधिकारिक कुराकानी भएको छैन । यदि उनीहरू प्रस्ताव लिएर आए भने उनीहरूको अनुरोधलाई हामी अवश्य पनि जाँच गर्नेछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३