close

युट्युबमा ‘स्क्याम’ विज्ञापन बढेको एलन मस्कको आरोप

टेकपाना टेकपाना

जेठ २९, २०७९ ८:३९

युट्युबमा ‘स्क्याम’ विज्ञापन बढेको एलन मस्कको आरोप

काठमाडौं । टेस्लाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले युट्यबलाई स्क्याम एड (ठगी फैलाउने विज्ञापन) बढी राखेको आरोप लगाएका छन् । उनले भिडिओ स्ट्रिमिङ एप युट्युबलाई ठगी विज्ञापन राखेको भन्दै आलोचना गरेका हुन् ।

उनले आफ्नो ट्वीटर ह्याण्डलबाट युट्युबलाई प्रभाव पार्ने विभिन्न मिम र पोस्ट ट्वीट गरिरहेका छन् । उनका युट्युबसँग सम्बन्धित ट्वीटलाई लिएर केहीले प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना गरेका छन् ।

त्यही ट्वीटलाई लिएर उनका एक फलोअरले युट्युबसमेत किन्न आग्रह गरेका छन् । सोही ट्वीटमा कमेन्ट गर्दै धेरैले एलन मस्कसँग युट्युब किन्ने पैसा नभएको भन्दै मजाक गरिरहेका छन् ।

मशेबलकाअनुसार युट्युबलाई पैसा र भ्युजका लागि विभिन्न भिडिओबाट फाइदा उठाएको आरोप लागेको छ । त्यस्तै अस्ट्रेलियाको अदालतले युट्युबको यही बानीलाई लिएर जरिवाना समेत तिराएको थियो ।

गत अप्रिलमा एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्न लागेकाे कुरा बाहिर आएको थियो । यद्यपि अहिले मस्कको कानूनी समूहले एक सूचनामार्फत ट्वीटरसँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिएकाे छ ।

सूचनामा ट्वीटरले आफ्नो प्लेटफर्ममा भएका नक्कली र स्पाम अकाउन्टको जानकारी दिन अस्वीकार गरेकाले सम्झौता रद्द गर्ने उल्लेख छ ।

यही बीचमा युट्युबका बारेमा बोल्दा यो चर्चाको विषय बनेको छ ।

युट्युब प्रयोगकर्ताले भिडिओ हेरिरहँदा सुरुवात, बीच वा अन्त्यमा आउने अनस्किपएबल (हटाउन नमिल्ने) विज्ञापनका कारण हैरानी भएको धारणा व्यक्त गरिरहेका बेला मस्कले पनि युट्युबमाथि आलोचना गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६