close

चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि

टेकपाना टेकपाना

जेठ २९, २०७९ ७:२७

चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि

काठमाडौं । नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले वर्षेनि जनधको क्षति गरिरहेको छ ।

बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।

पूर्व मनसुन गतिविधि सक्रिय भएसँगै मौसममा आएको फेरबदलका कारण गएको दुई महिनामा मात्रै २३ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ ।

चट्याङ्बाट गत दुई महिनामा ४५ जना घाइते भएका छन् । गतवर्ष चट्याङ्ले ५६ जनाको ज्यान लिएको थियो भने १७९ जना घाइते भएका थिए।

के हाे चट्याङ ? 

पूर्व मनसुन तथा मनसुनी वायु सक्रिय भएको बेला बादलमा हुने घर्षणबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिनमा खस्छ, जसलाई चट्याङ भनिन्छ । यसलाई न टार्न सकिन्छ, न त रोक्न नै । विद्युतीय चार्ज आकाशबाट पृथ्वीमा आइपुग्दा ठूलो जनधनको क्षति हुन्छ ।

राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रका प्रमुख खुमाकान्त आचार्यका अनुसार पछिल्लो समयमा चट्याङबाट हुने मानवीय साथै पशुचौपायालाई पनि यसले क्षति गर्ने गरेको छ ।

‘पछिल्ला केही वर्षमा चट्याङले जनधनका साथै पशुचौपायाको पनि ज्यान जाने गरेको छ । हामीले मानवीय संवेदनशीलतालाई मात्र बढी महत्व दिन्छौँ तर यसले धेरैतर्फ असर पुर्याउँछ,’ उनले भने ।

नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा चट्याङ्बारे पूर्वजानकारी गराउने गरे पनि यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन । जसका कारण हुने क्षतिलाई न्यूनिकरण गर्न नसकिएको उनी स्वीकार्छन् ।

‘नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा मात्र यसको जानकारी दिने गरिएको छ । तर, यसको पूर्वानुमान गर्न सक्ने कुनै प्रविधि नेपालमा नहुँदा पनि क्षतिलाई न्यूनीकरण गर्न सकिएको छैन,’ उनले भने।

चट्याङका सन्दर्भमा सरकारको ध्यान पुगेन: विज्ञ शर्मा

चट्याङबारे लामो अध्ययन गर्नुभएका विज्ञ डा. श्रीराम शर्माकाअनुसार चट्याङ दृष्टिकोणले नेपाल जोखिममा रहे पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको बताउँछन् ।

‘नेपालमा पछिल्लो समय चट्याङ्का घटना धेरै हुने गरेका छन् तर सरकारले यसलाई सरल रुपले लिएजस्तो देखिन्छ,’ उनले भने, ‘बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका बारेमा धेरै गोष्ठी र सेमिनार गरेर चासो देखाएको सरकारले यस विषयमा एउटा पनि गोष्ठी आयोजना गरेको मेरो सम्झनामा छैन ।’

नेपालको पूर्वी क्षेत्रमा बङ्गालको खाडीबाट आउने बाष्पयुक्त बादलका कारण पूर्वी क्षेत्रको झापा र मोरङमा सबैभन्दा बढी चट्याङ पर्ने गर्छ ।

शर्माका अनुसार चट्याङले चुरे क्षेत्रमा पनि नोक्सानी गरेको छ । दक्षिण, पूर्वी भागपछि चुरे क्षेत्रमा बढी चट्याङ परेको पाइन्छ, त्यसपछि पोखरादेखि म्याग्दीसम्म बढी चट्याङ परेको पाइन्छ ।

‘पूर्वी क्षेत्र बङ्गालको खाडीसँग नजिक रहेकाले यस क्षेत्रमा बढी चट्याङ् पर्दछ,’ उनले भने, ‘तर नेपाली आकाशको तत्लो भागको उचाइ तीन किलीमिटर भएका कारण चुरे क्षेत्रमा पनि बढी चट्याङ पर्दछ ।’

नेपालमा चट्याङ्बाट मृत्यु हुनेको सङ्ख्या कम देखिए पनि दरको हिसाबले धेरै रहेको शर्माको भनाइ छ ।

विद्युतीय उपकरणको लेखापरीक्षण आवश्यक

विद्युतीय उपकरणको लेखापरीक्षण आवश्यक बाहिरी देशहरुमा विभिन्न अस्पताल तथा सङ्घसंस्थाहरुमा जडान गरिएका विद्युतीय उपकरणहरुको बेला बेलामा विद्युतीय लेखापरीक्षण हुने विज्ञ डा. शर्मा बताउँछन् ।

‘विभिन्न देशमा अस्पताल तथा अन्य ठूला सङ्घसस्थाहरुमा विद्युतीय अडिटिङ् अनिवार्य गरिएको हुन्छ,’ उनले भने, ‘तर नेपालमा भने विद्युतीय उपकरणहरुमा समस्या आयो भने मात्र परीक्षण हुन्छ नत्र केही गरिएको छैन । यसले पनि जाेखिम निम्त्याएको छ । ’

बेलायत, जर्मनीजस्ता देशहरुमा प्रत्येक छ–छ महिनामा अनिवार्य विद्युतीय अडिटिङ् गर्नुपर्ने व्यवस्था रहेको उनी बताउँछन् ।

सहरको तुलनामा गाउँमा धेरै जोखिम

विज्ञ डा. शर्माका अनुसार सहरको तुलनामा गाउँमा चट्याङकाे धेरै जोखिम रहेको छ ।

‘गाउँका घरहरुमा जस्तापाता वा छानाको प्रयोग गरिएको हुन्छ । जमिनमा करेन्ट प्रवाह हुनका लागि कुनै धातु प्रयोग हुँदैन जसबाट मानिस वा पशुपंक्षीलाई खतरा हुन्छ,’ शर्माले भने, ‘सहरका धेरै घरहरुमा जमिनसँग छोएका धातुहरुको प्रयोग हुन्छ , जसबाट क्षति कम हुन्छ ।’

कसरी बच्ने ?

यसबाट बच्न घरमा चट्याङ प्रतिरक्षात्मक सामग्री राख्नुपर्छ । जस्तै, तामाका पाता, एल्मोनियम अथवा डिआइका सामान्य रडहरु राखेर घरलाई सुरक्षित बनाउन सकिन्छ ।

‘चट्याङबाट बच्ने एउटा प्रविधि हुन्छ । सामान्य खर्चमा संरचना वा घर जोगाउन सकिन्छ,’ विज्ञ डा. शर्माले भने, ‘साथै, चट्याङबारे जनचेतना फैलाउनुपर्छ, सुरक्षित स्थानमा बस्ने । चट्याङ पर्दा घर बाहिर नबस्ने र घरभित्र बस्दा पनि सुरक्षित भएर बस्ने ।’

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६