काठमाडौं । पछिल्लो समयमा युट्युबमा एलन मस्कका केही भिडिओहरू देख्न सकिन्छ, जहाँ मस्कले बिट्क्वाइनको मूल्य सम्बन्धित अथवा अन्य कुनै क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिइरहेका छन् । यद्यपि ती सबै भिडिओ नक्कली हुन् ।
युट्युबमा एलन मस्कको नक्कली भिडिओ राखेर स्क्याम गर्ने साइबर अपराधीहरूको एउटा ठूलो सञ्जाल नै छ । यो सञ्जालमा भएका ह्याकरहरूले एलन मस्कको झुटो भिडिओ बनाएर पैसा उठाउने गर्छन् ।
यस्तो झुटो भिडिओमार्फत गएको एक हप्तामा मात्र दु लाख ४३,००० डलर (३ करोड रुपैयाँभन्दा बढी) को रकम ह्याकरहरूले कमाएका छन् ।
बीबीसीले प्रकाशन गरेको समाचारका अनुसार गएको हप्तामा मात्र यस्तो नक्कली भिडिओमार्फत बिट्क्वाइनको कारोबार २३ पटक र इथेरियमको कारोबार १८ पटक भएको देखिन्छ । प्रकाशित समाचार अनुसार ह्याकरहरूले अन्य व्यक्तिहरूको युट्युब च्यानल ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रचार गर्ने गर्छन् ।
साथै गिभअवेको नाममा झुटा भिडिओहरू बनाएर उक्त ह्याक भएको च्यानलमा पोस्ट गर्ने तथा लाइभ गर्ने गर्छन् । यस्तो भिडिओ हेरिरहेकामध्ये हजारौं व्यक्तिहरूले भिडिओलाई वास्तविक भिडिओ ठानी लगानी गर्ने गर्छन्, जहाँ उनीहरू ठगीमा पर्ने गर्छन् र उनीहरूले गरेको लगानी डुब्ने गर्छ भने यसरी लगानी गरिएको रकम ह्याकरको हातमा जाने गर्छ ।
अर्कोतिर भने ह्याकहरूले एलन मस्क अथवा टेस्लाको फेक अकाउन्ट बनाएर पनि यस्तो स्क्याम गरिरहेका छन् ।