close

आफूले चाहेका व्यक्तिलाई मात्र इन्स्टाग्रामको स्टोरी देखाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार ११, २०७९ १२:४०

आफूले चाहेका व्यक्तिलाई मात्र इन्स्टाग्रामको स्टोरी देखाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । केही वर्षअघि इन्स्टाग्रामको स्टोरी केही व्यक्तिबाट लुकाएर राख्न समस्या नै थियो । यदि कुनै व्यक्तिलाई आफ्नो इन्स्टाग्राम स्टोरी नदेखाउनुपर्ने परिस्थिति आइलाग्यो भने स्टोरी सेटिङमा गई एउटा एउटा मान्छे छानेर उसलाई हाइड वा ब्लक गर्नुपर्ने हुन्थ्यो ।

तर, यदि सोही ब्लक गरेका व्यक्तिलाई पुनः अर्को स्टोरी देखाउनुपर्‍यो भने अनब्लक गर्नुपर्ने हुन्थ्यो । इन्स्टाग्रामले सन २०१८ मा क्लोज फ्रेन्ड फिचर सार्वजनिक गरेको थियो । जसका माध्यमबाट कुन स्टोरी जसलाई देखाउन चाहेको हो, एकै पटकमा सो व्यक्तिलाई देखाउन सकिन्छ ।

क्लोज फ्रेन्ड फिचरमा त्यस्ता व्यक्तिलाई समावेश गर्न सकिन्छ, जसलाई तपाईं आफ्नो इन्स्टा स्टोरी देखाउन चाहनुहुन्छ । यदि तपाईंले कुनै पनि स्टोरी क्लोज फ्रेन्डले हेर्न सकिने बनाउनुभएको छ भने क्लोज फ्रेन्डमा नभएका मानिसहरू सो स्टोरी देख्न सक्दैनन् ।

त्यस्तै तपाईंले इन्स्टामा कुनै पनि स्टोरी क्लोज फ्रेन्डले देखोस् भनेर क्लोज फ्रेन्डको अप्सनमा राख्नुभएको छ भने क्लोज फ्रेन्डमा भएका मानिसहरूले तपाईंले सो स्टोरी उसैलाई देखाउन चाहेको भन्ने बुझ्छन् वा त्यो स्टोरीमा भएको पोस्ट उनीहरूसँग सम्बन्धित छ भन्ने बुझ्न सक्छन् ।

आज हामी इन्स्टाग्रामको क्लोज फ्रेन्डमा कसरी आफ्ना नजिकका वा स्टोरी देखाउन चाहेका साथीहरू एड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

  • सबैभन्दा पहिले एन्ड्रोइड वा आईओएसको इन्स्टाग्राम एपमा जानुहोस्
  • त्यसपछि तलतिर दायाँपट्टि रहेको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि भएको तीनवटा लाइन (मेन्यू आइकन) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि तल क्लोज फ्रेन्डको अप्सन देखिन्छ ।
  • त्यहाँ गएर आफूले क्लोज फ्रेन्डमा राख्न चाहेका साथीहरूलाई छान्नुहोस् । त्यसपछि तल रहेको डन (Done) अप्सनमा ट्याप गर्नुहोस् ।
  • अब तपाईं होम पेजमा जानुहोस् ।
  • त्यहाँ माथि बायाँपट्टि तपाईंको प्रोफाइलको आइकन र तल प्लस (+) आइकन देख्न सकिन्छ ।
  • त्यसैमा ट्याप गरेर स्टोरी हाल्न चाहेको पोस्ट छान्नुहोस् ।
  • पोस्ट छानिसकेपछि तपाईंले तल क्लोज फ्रेन्डको विकल्प देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्नुभयो भने सो पोस्ट तपाईंले क्लोज फ्रेन्डको लिस्टमा राखेका मानिसहरूले देख्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३