close

सुरु भयो अनलाइनबाटै मतदाता नामावली दर्ता, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २९, २०७९ १२:३०

सुरु भयो अनलाइनबाटै मतदाता नामावली दर्ता, यसरी दिनुहोस् आवेदन

काठमाडौं । आजबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले वेबमा आधारित ‘भोटर लिस्ट प्रि रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गरेको हो ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु भएको छ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । 

आयोगका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् ।

यस्तो छ दर्ता प्रक्रिया

  • दर्ताका लागि सुरुमा आयोगको वेबसाइट खोल्नुहोस् र त्यहाँ रहेको ‘मतदाता नामावली प्रि–रजिष्ट्रेशन’ मा क्लिक गर्नुहोस् अथवा सोझै यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
  • त्यो सँगै त्यहाँ रहेको ‘रजिस्टेशन’ मा क्लिक गर्नुहोस् ।
  • अब तपाईंलाई दर्ताको लागि सुरुमा मोबाइल नम्बर माग्नेछ । मोबाइल नम्बर राखी दायाँ साइडमा रहेको एरोमा क्लिक गर्नुहोस् ।
  • त्यो सँगै तपाईंको मोबाइल नम्बरमा म्यासेजमार्फत भेरिफिकेसन लागि ‘ओटीपी’ कोड प्राप्त हुनेछ । उक्त ओटीपी कोड राखेसँगै दर्ताका लागि नयाँ वेबपेज खुल्नेछ ।
  • उक्त पेजको बाँया साइडमा तपाईंले ‘नयाँ दर्ता’ भन्ने विकल्प रहेको छ ।
  • नयाँ दर्तामा क्लिक गरेसँगै अब तपाईंले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । आवश्यक व्यक्तिगत विवरण भरेर अन्तिममा फर्म ‘समिट’ अर्थात बुझाउन सक्नुहुनेछ ।
  • त्यसरी फर्म समिट गरेसँगै त्यहाँ तपाईंलाई एउटा सङ्केत नम्बर प्राप्त हुनेछ । सङ्केत नम्बर युक्त उक्त पेज तपाईंले प्रिन्ट गरेर सुरक्षित राख्न आवश्यक छ ।
  • किन भने फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३