close

हाम्रो पात्रो हेल्थमा नयाँ सुविधा, डक्टरसँग बिरामी र टाढा रहेका आफन्तले पनि कुरा गर्न पाउने

टेकपाना टेकपाना

भदौ १, २०७९ १४:२७

हाम्रो पात्रो हेल्थमा नयाँ सुविधा, डक्टरसँग बिरामी र टाढा रहेका आफन्तले पनि कुरा गर्न पाउने

काठमाडौं । अब हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’बाट डक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने भएको छ ।

यसअगाडि अनलाइनमा डक्टरसँग तत्काल कुरा गर्न सकिने सुविधा थियो, जसमा बिरामी र डक्टर दुई जनामात्र कलमा सहभागी हुन सकिन्थ्याे ।

अब भने आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डक्टरहरूले कन्फरेन्स कल गरेर एकैपटक कुराकानी गर्न सकिने सुविधा थपिएकाे कम्पनीले जनाएकाे छ ।

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा-बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँगै कन्फरेन्स कलमा बस्नसक्ने बताए ।

यसका साथै बिरामीको प्रकृति हेरेर एपले नै कुन विशेषज्ञता भएका डक्टरसँग कुरा गर्ने भन्ने सुझाव पनि दिने बताइएको छ ।

आफ्नो अनुभवको आधारमा डक्टरले एपमा सेवाशुल्क निर्धारण गर्न सक्नेछन् ।

डक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समयतालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलोअपको सुविधा पनि राखिएको छ ।

यसका साथै बिरामीले डक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४