तपाईँको मोबाइलमा कुन भर्सनको ब्लुटुथ छ ? थाहा पाइराख्नुहोस् संस्करण पिच्छेका फिचर
भदौ ३, २०७९ ११:३३
काठमाडाैं । एयर पडमा गीत सुन्न हाेस् वा कुनै फाइलहरू एउटा डिभाइसबाट अर्काेमा सार्न नै किन नहोस्, तपाईँ हामीले कतै न कतै ब्लुटुथ प्रयाेग गरिरहेकै हुन्छाैँ । अहिलेका सबै जसो माेबाइल फाेन, कम्प्युटर वा स्मार्ट डिभाइसमा हुने एक प्रविधि हाे, यो ।
मुख्यतः कम दूरीमा भएका दुई ओटा विद्युतीय उपकरणबीच तार रहित किसिमले कुनै फाइल वा सञ्चार आदानप्रदान गरिने प्रविधि नै ब्लुटुथ हाे । यसकाे मुख्य उद्देश्य भनेकाे दुई वा दुई भन्दा बढी विद्युतीय उपकरण जाेड्नु हाे ।
आजभन्दा २४ वर्ष अगाडि सन् १९९८ मा विकसित भएकाे ब्लुटुथ प्रविधि ‘ब्लुटुथ स्पेसल इन्ट्रेस्ट ग्रुप’ (एसआईजी) को स्वामित्वमा छ । हालसम्म यसले ब्लुटुथका थुप्रै भर्सन बजारमा ल्याइसकेकाे छ ।
हाल ब्लुटुथकाे सबैभन्दा पछिल्लाे भर्सन ५.३ बजारमा आइसकेको छ । कम्पनीले पहिलेका भर्सनहरूमा भएका कमीकमजाेरी हटाउन र नयाँ फिचरहरू थप गर्न नयाँनयाँ भर्सन सार्वजनिक गर्दै आएको छ ।
ब्लुटुथका भर्सनहरूका बारेमा कुरा गर्दा हामीले जहिले पनि दूरी (रेन्ज), डेटा स्पिड, ऊर्जा खपत गरी तीन ओटा विषयमा ध्यान दिनुपर्ने हुन्छ । यी तिनै कुराका आधारमा ब्लुटुथ भर्सनहरू बुझ्न सकज हुन्छ ।
भर्सन १.०
सन् १९९९ मा ‘साेनी एरिक्सन टी ३६’ माेबाइल फाेन सार्वजनिक भएसँगै ब्लुटुथ १.० भर्सन रिलिज भएकाे थियाे । यसकाे गति केवल ७३२.२ केबीपीएसदेखि २.१ एमबीपीएस थियाे । साथै यसले अधिकतम १० मिटरको दूरी भित्र मात्र काम गर्न सक्थ्यो ।
हाल बजारमा रहेका वायरलेस हेडफाेन, स्पिकर, गेम कन्ट्राेलर आदिका लागि याे भर्सन एक मार्गदर्शक थियाे । याे भर्सन उति साह्रो अन्तरक्रियात्मक पनि थिएन । १.० भर्सन पछि त्यसको अपडेटेड भर्सनको रूपमा १.० बी, १.१, १.२ आए ।
जसमा पूराना भर्सनमा भएका धेरै गल्तीहरू सच्याउनुका साथै डेटा ट्रान्सफर स्पिड र छिटो कनेक्ट हुने कुरामा समेत सुधार ल्याइएको थियाे । यी भर्सनमा ‘गाैसियन फ्रिक्वेन्सी शिफ्ट किइङ’ (जीएफएसके) माेडुलेसन याेजना (स्किम) प्रयाेग गरिएकाे थियाे ।
भर्सन २.०
सन् २००५ मा ब्लुटुथकाे अर्को भर्सन २.० आयाे । यसमा ‘इन्ह्यान्स्ड डेटा रेट’ (ईडीआर) प्रयाेग भएकाे थियाे । यो माेडकाे सहायताले डेटा स्पिड बढेर २.० एमबीपीएस देखि ३ एमबीपीएससम्म पुगेकाे थियाे ।
त्यस्तै अधिकतम ३० मिटर भित्र काम गर्न सक्ने भयो । यसमा नै केही थप नयाँ अपडेट गरेर सन् २००७ मा भर्सन २.१ सार्वजनिक गरियाे । यो भर्सनमा मूल रूपमा ‘सेक्युर सिम्पल पियरिङ्ग’ (एसएसपी) थपियाे । जसकाे मद्दतले ब्लुटुथ पियरिङ्ग गर्दाकाे अनुभवमा सुधार आयो।
भर्सन ३.०
याे भर्सन सन् २००९ मा आएकाे हो । यसले डेटा स्पिडमा निकै सुधार गरेकाे थियाे । जसका कारण ठूला फाइलहरू आदानप्रदान गर्न समेत सजिलाे भएकाे थियाे ।
२४ एमबीपीएस सम्मको गतिमा यसले काम गर्थ्याे भने यसको रेञ्ज ३० मिटरसम्म पुग्यो । तर, यसले निकै धेरै ऊर्जा खपत गर्ने भएकाले याे भर्सन छोटो समयमै बन्द भयाे ।
भर्सन ४.०
एसआईजीले भर्सन ३.० मा भएकाे ऊर्जा खपतको समस्यालाई हल गर्दै याे भर्सन ल्याएकाे थियाे । याे भर्सनलाई ‘ब्लुटुथ लाे इनर्जी’ (बीएलई) भनेर पनि चिनिन्छ ।
याे भर्सनले डिभाइसकाे ब्याट्री लाइफ लामाे समयसम्म राख्नुका साथै डेटा स्पिड र रेन्जमा समेत निकै सुधार ल्याएकाे थियाे । डेटा स्पिड २४ एमबीपीएस देखि २५ एमबीपीएससम्म थियाे भने रेन्ज बढेर ६० मिटर पुगेको थियो । यही भर्सनका दुई अपडेडेट भर्सन सन् २०१३ मा ४.१ र सन् २०१४ मा ४.२ ल्याइएका थिए ।
भर्सन ५
ब्लुटुथको याे भर्सन अहिले बजारमा प्रयाेग भइरहेको पछिल्लो भर्सन हाे । एसआईजीले यसलाई सन् २०१६ मा बजारमा ल्याएकाे थियो । यसले ५० एमबीपीएसको गतिमा डेटा ट्रान्सफर गर्न सक्छ भने २४० मिटरसम्मको रेन्जमा काम गर्न सक्छ ।
यसमा भएकाे आकर्षक फिचर भनेको ‘डुअल अडियाे कनेक्सन’ हाे । जसकाे सहयोगमा एकै पटकमा दुई ओटा डिभाइसहरू कनेक्ट गर्न सकिन्छ । यसमा पनि तीन पटक सम्म अपडेट भइसकेको छ ।
२१ जनवरी २०२१ मा भर्सन ५.१ सार्वजनिक गरिएकाे थियाे । यससँगै मुख्यत: ‘एङ्गल अफ अराइभर’ (एओए) र ‘एङ्गल अफ डिपार्चर’ (एओडी) फिचर थपिएका छन् ।
जसलाई ठाउँ र वस्तु ट्रयाक गर्न प्रयाेग गरिन्छ । साथै ‘काेर स्पेसिफेकेसन एडेन्डम’ (सीएसए) जस्ता फिचर पनि यसमा पाउन सकिन्छ । साथै ‘युनिट किज् फिचर’ भने हटाइएकाे छ ।
त्यस्तै एलई पावर कन्ट्राेल, ‘इन्ह्यान्स्ड एट्रिब्युट प्राेटाेकल’ (इएटीटी) जस्ता विशेषताहरू थपेर सन् ३१ डिसेम्बर २०१९ मा भर्सन ५.२ मा सार्वजनिक भयो । त्यस्तै १३ जुलाई २०२१ मा भर्सन ५.३ आयो ।
यसमा ‘कनेक्सन सबरेटिङ्ग’, ‘च्यानल क्लासिफिकेसन इन्ह्यान्समेन्ट’ जस्ता फिचर थप गरेर ‘अल्टरनेट म्याक’ (एमएसी) र ‘पीएचवाई एक्टेन्सन’ जस्ता विशेषता हटाइएकाे थियाे ।
| ब्लुटुथ भर्सन | सार्वजनिक वर्ष | डेटा ट्रान्सफर स्पिड | अधिकतम रेन्ज | विशेषता |
| १.० | १९९९ | ७६२.२ केबीपीएसदेखि २.१ एमबीपीएस | १० मिटर | स्पिच मात्र |
| २.० | २००४ | २.१ एमबीपीएसदेखि ३ एमबीपीएस | १० देखि ३० मिटर | इन्ह्यान्च्ड डेटा रेट |
| ३.० | २००९ | २४ एमबीपीएस | ३० मिटर | हाइ स्पिड (एचएस) |
| ४.० | २०१० | २४ एमबीपीएसदेखि २५ एमबीपीएस | ६० मिटर | ब्लुटुथ लाे इनर्जी (बीएलई) |
| ५.० | १०१६ | २५ एमबीपीएसदेखि ५० एमबीपीएस | २४० मिटर | डुअल अडियाे कनेक्सन |
तपाईँको मोबाइल वा उपकरणमा ब्लुटुथको कुन भर्सन छ ?
ब्लुटुथ भर्सनहरूको बारेमा चर्चा गर्दैगर्दा तपाईँलाई पक्कै पनि आफ्नो डिभाइसमा कुन भर्सनकाे ब्लुटुथ छ भन्ने कुरा थाहा पाउन मन लागेको हुनसक्छ । तपाईँका लागि याे कुरा थाहा पाउन जरुरी पनि छ ।
किनकी तपाईँले चलाउने डिभाइसमा त्यस सम्बन्धि कुनकुन फिचरहरू छन् भन्ने कुरा ब्लुटुथ भर्सनमा निर्भर हुन्छ । ब्लुटुथकाे भर्सन थाहा पाउने सबै भन्दा सजिलाे तरिका भनेकाे तपाईँले आफ्नो डिभाइसकाे ब्राेसर हेर्नु हाे ।
अब तपाईँसँग ब्राेसर पनि छैन भने पनि चिन्ता लिनु पर्दैन । त्यसका लागि निम्न विधि अपनाउन सक्नुहुन्छ ।
डिभाइस स्पेक शिट हेरेर ब्लुटुथ भर्सन थाहा पाउने विधि
तपाईँले जीएसएम अरेना वेबसाइटमा गएर स्पेक शिट पढेर पनि आफ्नाे डिभाइसकाे ब्लुटुथ भर्सन पत्ता लगाउन सक्नु हुन्छ ।
यो वेबसाइटमा गएपछि तपाईँसँग भएकाे डिभाइसकाे नाम लेखेर सर्च गर्नुहाेस् । त्यहाँ डिभाइसबारेको जानकारी आउँछ । त्यही इन्फाेमा तपाईँले आफ्नो डिभाइसकाे ब्लुटुथ भर्सन हेर्न सक्नुहुन्छ ।
माेबाइल एप प्रयाेग गरेर ब्लुटुथ भर्सन थाहा पाउने विधि
माथिका दुवै तरिका तपाईंँलाई चित्त बुझेन भने माेबाइल एपकाे प्रयाेग गरेर पनि ब्लुटुथ भर्सन थाहा पाउन सक्नुहुन्छ । यसका लागि थुप्रै एप बनाइएका छन् । ती मध्ये एआईडीए ६४ तपाईँका लागि उपयुक्त हुनसक्छ ।
यहाँ तपाईँले मात्र एक क्लिकमा आफ्नाे डिभाइसकाे ब्लुटुथ भर्सन थाहा पाउन सक्नु हुनेछ । एप खोल्ने वित्तिकै सबैभन्दा माथि रहेकाे सिस्टममा क्लिक गर्नुहाेस् । त्यस पश्चात स्क्राेल गर्दै जानुहाेस् । केही तल तपाईँले ब्लुटुथ भर्सन देख्न सक्नुहुनेछ ।
कम्प्युटरको ब्लुटुथ भर्सन थाहा पाउने विधि
- आफ्नाे कम्प्युटरको ‘डिभाइस म्यानेजर’मा जानुहाेस् ।
- ‘ब्लुटुथ’मा क्लिक गर्नुहाेस् ।
- ‘ब्लुटुथ रेडियाे लिस्टिङ’ छनौट गर्नुहाेस् ।
- ‘एडभान्स’ ट्याबमा क्लिक गरेर र फर्मवेयर वा फ्रमवेयर भर्सन एरियामा एलएमपी (लिङ्क मेनेजर प्राेटाेकल) नम्बर खाेज्नुहाेस् । यही नम्बरका मद्दतले ब्लुटुथ भर्सन थाहा पाउन सकिन्छ । तपाईँकाे एलएमपीकाे आधारमा ब्लुटुथकाे काेर स्पेसिफिकेसन (भर्सन) थाहा पाउन तलकाे टेबल हेर्नुहाेस् ।
| लिङ्क मेनेजर प्राेटाेकल भर्सन (एलएमपी) | ब्लुटुथ काेर स्पेसिफिकेसन (भर्सन) |
| एलएमपी ० | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.०. बी |
| एलएमपी १ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.१ |
| एलएमपी २ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) १.२ |
| एलएमपी ३ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) २.० इडिआर |
| एलएमपी ४ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) २.१ इडिआर |
| एलएमपी ५ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ३.० एचएस |
| एलएमपी ६ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.० |
| एलएमपी ७ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.१ |
| एलएमपी ८ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ४.२ |
| एलएमपी ९ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.० |
| एलएमपी १० | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.१ |
| एलएमपी ११ | ब्लुटुथ काेर स्पेसिफिकेसन(भर्सन) ५.२ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
