close

वाणिज्य बैंकको नामबाट फेसबुक प्रयोगकर्तालाई फसाउन खोज्दै ह्याकर, यस्तो लिङ्कमा क्लिक नगर्नु !

टेकपाना टेकपाना

भदौ ३, २०७९ ९:४३

वाणिज्य बैंकको नामबाट फेसबुक प्रयोगकर्तालाई फसाउन खोज्दै ह्याकर, यस्तो लिङ्कमा क्लिक नगर्नु !

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाममा अहिले फेसबुकमा ‘फिशिङ लिङ्क’ (झुक्याएर माछालाई बल्छीमा पारेजस्तै इन्टरनेट प्रयोगकर्तालाई जालमा पार्ने दुष्प्रयत्न) फैलिरहेको छ । ‘फिशिङ लिङ्क’ रहेको उक्त साइट राष्ट्रिय वाणिज्य बैंककै जस्तो वास्तविक देखिने भएकाले जो कोही पनि झुक्किन सक्ने सम्भावना छ ।

साइटमा विजेता वा लक्की ड्र केही लेखिएको छैन । जसले गर्दा कुनै जानकारीका लागि होला भन्ने लाग्छ । लिङ्कमा क्लिक गरिसकेपछि सम्पूर्ण डेटा ‘फिसिङ’मा (ह्याकरको हातमा) पर्छ ।

सँगसँगै लिङ्क खोल्ने व्यक्तिको मेसेन्जरबाट उक्त लिङ्क विभिन्न व्यक्तिलाई स्वतः फरवार्ड हुन्छ । राष्ट्रिय वाणिज्य बैंकका सूचना तथा सञ्चार प्रमुख रिको स्थापितले टेकपानासँग कुरा गर्दै भने, “राष्ट्रिय वाणिञ्ज बैंकले नाममा फिशिङ लिङ्क फैलिरहेको रहेछ । यसबाट बच्न त्यस्ता लिङ्क नखोल्न आग्रह गर्छु ।”

बैंकको आधिकारिक सामाजिक सञ्जालका पेज वा वेबसाइट बाहेक अन्य साइटमा आएका लिङ्कमा विश्वास नगर्न उनले अनुरोध गरेका छन् । यसबारे थप सजगता अपनाउन राष्ट्रिय वाणिज्य बैंकले सूचना समेत प्रकाशन गर्ने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा फैलेको यो लिङ्क नयाँ विन्डोजमा खोल्ने हो भने पाँच हजार पुरस्कारका लागि आवेदन दिन सकिने प्रलोभन बाँडिएको देखिन्छ । रकम त्यति ठूलो नभएकाले पनि धेरैलाई आधिकारिक जस्तो नै लाग्न सक्छ ।

त्यस्तै साइटमा रहेका कमेन्ट हेर्ने हो भने पनि आधिकारिक जस्तो नै देखिन्छ । त्यहाँ भएका विभिन्न प्रश्नको उत्तर दिँदै गयो भने फेसबुक मेसेन्जर र ह्वाट्सएपको ‘प्रमिसन’ (अनुमति) माग्छ ।

यदि त्यस्तो अनुमति दिएको खण्डमा तपाईँको ह्वाट्सएप वा फेसबुक नै ह्याक हुन्छ र उनीहरूले तपाईँको अकाउन्टबाट थप व्यक्तिलाई त्यस्तो ‘फिशिङ लिङ्क’ पठाएर फसाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४