काठमाडौँ । पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल आफ्टरपार्टी शोडाउन २०२२ सम्पन्न भएको छ । साउदी अरेबियाको रियादमा भदाै २ देखि तीन दिनसम्म चलेको यो प्रतियोगिताको उपाधि थाइल्यान्डको पब्जी टिम भ्याम्पायर ई-स्पोर्ट्सले हात पारेकाे छ ।
भ्याम्पायर ई-स्पोर्ट्सले १८ गेममा ६ चिकेन डिनरसहित १८० पोइन्ट पाएको थियो । त्यस्तै दोस्रो स्थानमा रहेको टिम अल्फा सेभेन ई-स्पोर्ट्सले १८ गेममा ३ चिकेन डिनर सहित १७४ पोइन्ट पायो ।
यसैगरी अङ्क तालिकामा शीर्ष तीनमा रहन सफल टोली टिम फाल्कोनले २ चिकेन डिनरसहित १२९ पोइन्ट ल्याएको थियो ।
यो प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने सन्तोषजनक रहेन सकेन । १२ टिमले भाग लिएको यो प्रतियोगितामा नेपालकाे डेड आइज गाइज ११औं स्थानमा रह्यो ।
डेड आइज गाइजले १८ खेलमा ६७ पोइन्टमात्रै बटुल्याे, जसमा ४६ इलिमेनेसन पोइन्ट र २१ र्याङ्क पोइन्ट समावेश रहेको थियो ।
यो प्रतियोगितामा कुल १२ टिमले भाग लिएका थिए, जसमा पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२२ मा शीर्ष पाँचभित्र रहन सफल टिम र सात आमन्त्रित टिम थिए ।
प्रतियोगिताको विजेता टिम भ्याम्पायर ई-स्पोर्टसले एक लाख ६७ हजार डलर हात पारेको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहन सफल टिम अल्फा सेभेन ई-स्पोर्टस र टिम फाल्कोनले क्रमशः एक लाख ४४ हजार डलर र एक लाख नौ हजार डलर जित्न सफल भएका छन् ।
त्यस्तै नेपाली टिम डेडआइज गाइजले पनि सहभागिता स्वरूप २९ हजार डलर हात पारेको छ ।