close

आईफोनको क्यामेराबाट भाषा अनुवाद गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

भदौ ६, २०७९ १६:२६

आईफोनको क्यामेराबाट भाषा अनुवाद गर्ने सजिलो तरिका

काठमाडौं । हामीले कुनै पनि फोटोमा भएका शब्दलाई आफूले चाहेको भाषामा अनुवाद गर्न खोजिरहेका हुन्छौं । त्यसका लागि धेरैले गुगलको इमेज सर्च वा स्क्यानर प्रयोग गरिरहेका हुन्छौं ।

एन्ड्रोइड फोन हुनेहरूले यसरी फोटोमा भएका भाषा गुगल इमेज सर्चबाट सहजै अनुवाद गर्न सक्छन् । त्यस्तै आईओएस प्रयोगकर्ताले पनि त्यसरी नै गुगल इमेज सर्चबाट अनुवाद गर्न सक्छन् ।

तर, के तपाईंलाई थाहा छ, आईओएसको क्यामेराबाट पनि फोटोमा भएका टेक्स्ट अनुवाद गर्न सकिन्छ ।

यदि तपाईँ पछिल्लो पटक आएका आईओएस डिभाइस प्रयोग गर्नुहुन्छ वा आईओएस १५ सपोर्ट गर्ने आईफोन प्रयोग गर्नुभएको छ भने तपाईँको डिभाइसमा त्यसरी लुकेर बसेका कैयन फिचर रहेका छन् ।

तिनै विशेष फिचरमध्येको एक हो, फाेटाे वा इमेजमा भएका शब्द फोनको क्यामेराबाटै अनुवाद गर्ने फिचर ।

यदि तपाईँ कुनै नौलो ठाउँमा जानुभएको छ, जहाँ तपाईँले त्यहाँ बोलिने भाषाबारे जानकारी पाउनुभएको छैन भने यो फिचर तपाईंका लागि उपयुक्त हुनसक्छ ।

यसरी सजिलै आईफोनको क्यामेराबाट शब्द आफूलाई अनुकूल हुने भाषामा अनुवाद गर्नुहोस्

  • सबैभन्दा पहिले आईफोनकाे क्यामेरा एपमा जानुहोस् ।
  • त्यसपछि आफूले अनुवाद गर्नुपर्ने शब्द भएको पेपर वा अन्य कुनै ठाउँको टेक्स्टमा क्यामेरा लग्नुहोस् ।
  • डिभाइसले शब्द पहिचान गरिसकेपछि त्यहाँ स्क्यानरको आइकन देखिन्छ ।
  • त्यसपछि ट्रान्सलेटको अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ डिफल्ट रूपमा भएको भाषामा अनुवाद हुन्छ । आफूलाई उपयुक्त हुने भाषा छान्नका लागि ‘चेन्ज ल्याङ्ग्वेज’मा जानुहोस् ।
  • त्यसपछि आफूलाई उपयुक्त लागेको भाषा छान्नुहोस् ।

तपाईंले पहिले नै खिचेको फोटोको टेक्स्ट कपी गर्नुपर्‍यो वा त्यसलाई अनुवाद गर्नुपर्‍यो भने फोटोज एपमा गएर पनि गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४