काठमाडौं । मृत व्यक्तिलाई ज्युँदो बनाएको भन्दै सामाजिक सञ्जालमार्फत भिडिओ अपलाेड/शेयर गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बुटवल-१२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेकाे हो ।
कञ्चनपुर घर भएका ३५ वर्षीय गोतामेले धर्मकाे नाममा भ्रम फैलाउँदै सामाजिक सञ्जालमा सामग्री अपलाेड गरेकाे पाइएकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे इलाका प्रहरी कार्यालय बुटवलका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।
आरोपित गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुटवल पठाइएको छ ।
गोतामेले एक वर्षअघि आफ्नो सामाजिक सञ्जाल फेसबुक अकाउन्टमा एउटा भिडिओ अपलोड गरेका थिए, जसमा मृत भनिएकी एक महिला पल्टिरहेकी देखिन्छन् भने पास्टर गोतामे ‘मन्त्र’ उच्चारण गरिरहेका हुन्छन् ।
त्यसको केही समयपछि मृत भनिएकी महिला पल्टेको ठाउँबाट उठ्छिन् ।
त्यसपछि उक्त भिडिओमा अनेकन् औषधि उपचार गर्दा पनि सन्चो नभएर मृत भएकी महिलालाई पास्टरले जिउँदो बनाएको दाबी गरिएकाे छ ।
गाैतमले एक वर्षअगाडि अपलोड गरेको भिडिओ अहिले भाइरल भएकाे सूचना आएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएकाे डीएसपी केसीले जानकारी दिए ।