काठमाडौं । अब प्रयोगकर्ता आफैंले म्याकबुक मर्मत गर्नसक्ने भएका छन् । यसअघि प्रयोगकर्तालाई आईफोन मर्मत गर्न दिएककाे एप्पलले म्याकबुकमा पनि सोही व्यवस्था लागू गरेको हो ।
योसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको म्याकबुक बिग्रिएको खण्डमा आफैंले मर्मत गर्न सक्नेछन् । तर, यसका लागि तपाईंसँग डिभाइस मर्मत गर्नसक्ने सीप भने चाहिन्छ ।
यदि सीप नभएको खण्डमा कुनै पनि डिभाइस आफैंले मर्मत गर्दा हुनसक्ने नोक्सानी आफैंले ब्यहोर्नुपर्ने कम्पनीले जनाएकाे छ ।
एप्पलका अनुसार हालका लागि ‘सेल्फ रिपेयर’ कार्यक्रम ‘एम१ म्याकबुक एयर’ र ‘म्याकबुक प्रो’का तीन ओटा मोडलका लागि मात्रै लागू गरिएको छ ।
त्यसका लागि कम्पनीले आवश्यक टुलबक्स समेत उपलब्ध गराउन थालेको छ, जसको मूल्य ४९ डलर तोकिएको छ ।
उक्त टुलबक्सको सहायताले अडियो बोर्ड, ब्याट्री, बटम केस, की क्याप्स, लजिक बोर्ड, टच आईडी बोर्ड लगायतका अन्य पार्ट प्रयोगकर्ता आफैंले परिवर्तन गर्न सक्नेछन् ।
पहिलो चरणमा अमेरिकाबाट सुरु भएको यो कार्यक्रम विस्तारै अन्य देशमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।