close

सबैले पढ्न मिल्ने आईटीको विदेशी डिग्री ‘बीआईसीटी’

सञ्जीवन राई सञ्जीवन राई

भदौ ८, २०७९ १०:२०

सबैले पढ्न मिल्ने आईटीको विदेशी डिग्री ‘बीआईसीटी’

काठमाडौं । हाल नेपालमा स्नातक तहमा नेपाली तथा विदेशी विश्वविद्यालयहरुका विभिन्न सूचना प्रविधि (आईटी) कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थीसँग आफ्नो रूचि अनुसारका आईटी कोर्षमा भर्ना हुने विकल्प छ । यसैबीच आज हामी बीआईसीटी कार्यक्रमबारे चर्चा गर्दैछौं ।

नेपालमै बसेर विदेशी डिग्री लिन चाहनेकहरुका लागि एक विकल्प हो, बीआईसीटी अर्थात् ब्याचलर्स अफ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी ।

ललितपुर कुमारीपाटीमा रहेकाे भिरिन्ची कलेजले मलेसियास्थित एसिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर सन् २०१६ देखि याे शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

याे विश्वविद्यालय एसिया काेअपरेसन डाइलग अन्तर्गत ३४ सदस्य देशहरु मिलेर सञ्चालनमा ल्याइएकाे हाे ।

कस्तो कोर्ष हाे बीआईसीटी ?

आईटी क्षेत्रमा भविष्य खोज्ने विद्यार्थीका लागि अनर्स प्राेग्रामका रूपमा यो कोर्ष डिजाइन गरिएको हो । कुल १२३ क्रेडिट आवरमा पढाइ हुने काेर्षकाे मुख्य लक्ष्य सफ्टवेयर इन्जिनियरिङमा विशेषज्ञता प्रदान गर्नु रहेकाे भिरिन्ची कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडा बताउँछन् ।

“याे कोर्ष चार वर्षे (आठ सेमेस्टर) को स्नातक डिग्री कार्यक्रम हो,’’ उनी भन्छन्, “आईटी उद्योगलाई सीपसँग जोड्ने गरी यसको पाठ्यक्रम बनाइएको छ ।”

यस काेर्षमा मुख्य ध्यान सफ्टवेयर इन्जिनियरिङका विषयमा दिइएकाे बताउँदै उनले अतिरिक्त काेर्षका रूपमा ‘एक्स्ट्रा स्किल इन्ह्यान्चमेन्ट’ कार्यक्रम समावेश गरिएकाे जानकारी दिए ।

“अनर्स प्राेग्राम भएकाले हामीले अतिरिक्त काेर्षकाे व्यवस्था गरेका छाैं । यसअन्तर्गत पहिलाे सेमेस्टरमा भिज्युअल आर्ट एन्ड डिजाइनका साथै एचटीएमएल, सीएसएस र जाभा स्क्रिप्टकाे छुट्टै काेर्ष छ । त्यस्तै दाेस्राे सेमेस्टरमा गिट र गिटहबकाे काेर्ष छ । तेस्राे सेमेस्टरमा डेटा स्ट्रक्चर एन्ड एल्गाेरिदम र क्लाउड कम्प्युटिङ छ । पाचाैं सेमेस्टरमा पाइथन विथ ज्याङ्गाे काेर्ष छ । छैटाैँ सेमेस्टरमा इन्टरनेट अफ थिङ्कस (आईओटी) र साताैँ समेस्टरमा डेभओप्स इन्जिनियरिङकाे काेर्ष छ । यी काेर्षहरु एक्स्ट्रा स्कील इन्ह्यान्चमेन्ट अन्तर्गतका काेर्षहरु हुन्’’ उनले भने । 

के हो त एक्स्ट्रा स्किल इन्ह्यान्समेन्ट कार्यक्रम ?

विश्वविद्यालयको मूल पाठ्यक्रमबाहेक नेपाल र विश्वकाे सन्दर्भमा उचित हुनेगरी स्वयं कलेजले नै तयार पारेका कोर्ष नै ‘एक्स्ट्रा स्किल इन्ह्यान्समेन्ट कार्यक्रम हो, जसलाई कलेजको आन्तरिक पाठ्यक्रम अनुसन्धान तथा विकास समूहले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई गहन अध्ययन गरेर तयार पारिन्छ ।

‘यस प्रोगामको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई करियरकाे परिप्रेक्ष्य, भविष्यकाे माग र बजारकाे आवश्यकतालाई आधार मानेर सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दक्ष बनाउनु हाे,’ सिम्खडाले थपे ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

उच्च मावि तहमा जुनसुकै संकाय पढेपनि याे काेर्ष गर्न सकिन्छ । तर तपाईंले सबै विषयहरुमा न्यूनतम डी प्लस ग्रेड ल्याउनुपर्छ ।

साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का डिप्लाेमा कोर्ष गरेका विद्यार्थीले पनि याे काेर्ष पढ्न सक्छन् ।

अरु काेर्षभन्दा कसरी भिन्न छ ?

याे विदेशी डिग्री पढ्न उच्च मावि तहमा जुनसुकै संकाय पढेपनि हुन्छ । अन्य काेर्षसँग तुलना गर्दा यसका पाठ्यक्रम सफ्टवेयर इन्जिनियरिङमा बढी केन्द्रित छ ।

त्यस्तै भिरिन्ची कलेज स्वयंले ‘एक्स्ट्रा स्किल इन्ह्यान्समेन्ट’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ, जसअन्तर्गत प्रत्येक विद्यार्थीहरुले व्यक्तिगत रुपमा प्राेजेक्ट गर्नुपर्छ ।

कलेजका सीईओ सिम्खडा वर्तमान र भविष्यकाे आईटी बजारको आवश्यकता अनुसार पाठ्यक्रम तयार हुनुलाई पनि यसकाे सकारात्मक पक्ष मान्छन् ।

नेपालमा यो कोर्षसँग मिल्दाेजुल्दाे अर्काे नाम हाे, बीएड आईसीटी । त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएकाे याे काेर्षमा शिक्षामा आईसीटी कसरी प्रयाेग गर्न सकिन्छ भन्ने कुरामा विशेष जोड दिइएकाे छ भने भिरिन्चीले सञ्चालन गरिरहेकाे काेर्ष बीआईसीटी पूर्ण रुपमा सफ्टवेयर इन्जिनियरिङ स्पेसलाइजेसनमा केन्द्रित रहेकाे सिम्खडा बताउँछन् ।

पढेपछि कहाँ कहाँ छ अवसर ?

याे कोर्षको अध्ययनपछि सफ्टवेयर डेभलपर, डेभअप्स इन्जिनियर, वेब डेभलपर, डेटाबेस  एडमिनिस्ट्रेटर, सफ्टवेयर टेस्टर, क्लाउड कम्प्युटिङ प्रोफेसनल, आईओटी डेभलपर,आईसीटी उद्यमी लगायतका रूपमा काम गर्न सकिने सिम्खडाकाे भनाइ छ ।

“यस कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरु ठूला ठूला कम्पनीमा कार्यरत छन् । यसका साथै विद्यार्थीहरुले प्राेजेक्टका रुपमा  बनाएका केही प्राेजेक्टहरुले बजारमा व्यवसाय रूपमा स्थान पाइरहेका छन्,’’ उनले भने ।

कति लाग्छ शुल्क ?

यस कोर्ष गर्न चार वर्षमा ८ लाख ८० हजार रुपैयाँ बराबरकाे शुल्क लाग्छ, जुन एक सेमेस्टर बराबर ८२ हजार हुन आउँछ ।

साथै कलेजले योग्य विद्यार्थीलाई मेरिटबेसका आधारमा छात्रावृत्ति समेत उपलब्ध गराइरहेकाे सिम्खडाले जानकारी दिए । 

‘विद्यार्थीको सीपलाई प्राथमिकता’

बीआईसीटी काेर्ष उच्च मावि तहमा जुनै विषय पढे पनि हुन्छ । तर तपाईं मानविकी अथवा शिक्षा संकाय लिएर उच्च मावि तह उत्तीर्ण हुनुभएकाे छ भने गणित, विज्ञानजस्ता विषयमा कमजाेर हुन सक्नुहुन्छ ।

यही कुरालाई सम्बाेधन गर्न कलेजले पाठ्यक्रमबाहेक पहिलाे सेमेस्टरमा नै आवश्यक पर्ने अतिरिक्त कक्षा उपलब्ध गराउँदै आएकाे सिम्खडा बताउँछन् ।

“यहाँ  विद्यार्थीलाई पाठ्यक्रमकाे सैद्धान्तिक ज्ञान मात्र नभएर विद्यार्थीकाे सीप विकासलाई जाेड दिइन्छ,” उनले भने ।

उनी अगाडि भन्छन्, “विद्यार्थीकाे हरेक वर्षमा मूल्याङ्कन हुने गर्छ । उसले के केमा राम्राे गर्याे, केकेमा गर्न सकेन, केके गर्न सक्थ्याे, यी कराहरुकाे मूल्याङ्कन हुन्छ । विद्यार्थीले आवश्यक पर्ने कुराहरु छैटाैँ सेमेस्टर (तेस्राे वर्ष) सम्ममा सिकिसकेकाे हुन्छन् । त्यसपश्चात अन्तिम वर्षमा कुन क्षेत्रमा जाने, के बन्ने भनेर निर्णय गर्नसक्ने हुन्छन् ।”

साथै कलेजले विद्यार्थीहरुलाई पाठ्यक्रमबाहेक अरु क्रियाकलापमा सहभागी गराएर वैयक्तिक विकास गराउन मद्दत गर्ने विभिन्न क्लबहरु पनि गठन गरेकाे छ । तीनै क्लबहरु अन्तर्गत रहेर विभिन्न गतिविधि हुने गर्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३