close

अब टेस्लाका कार सोझै स्टारलिङ्क स्याटलाइटमा कनेक्ट हुने

टेकपाना टेकपाना

भदौ १०, २०७९ १३:५६

अब टेस्लाका कार सोझै स्टारलिङ्क स्याटलाइटमा कनेक्ट हुने

काठमाडौं । एलन मस्कले स्टारलिङ्कको दोस्रो पुस्ताका स्याटलाइटमा सेलुलर एन्टेना समेत हुने बताएका छन् । उनले शुक्रबार मात्र यस्तो जानकारी सार्वजनिक गरेका हुन् । 

यसको अर्थ स्टाटलाइट सोझै मोबाइल फोनसँग कनेक्ट हुनेछ । यसको सुरुवात पहिलो चरणमा अमेरिकी वायरलेस दूरसञ्चार सेवाप्रदायक टी–मोबाइलबाट हुने बताइएको छ ।

टी–मोबाइलका प्रयोगकर्ताले सोझै स्टारलिङ्कको स्याटलाइट नेटवर्कमा कनेक्ट भएर कुराकानी गर्न तथा इन्टरनेट चलाउन सक्नेछन् । यसका लागि थप एक वर्ष लाग्नेछ ।

स्याटलाइट नेटवर्कमा मोबाइल मात्र नभएर टेस्लाका कार समेत कनेक्ट हुने छन् । मस्कका अनुसार दोस्रो पुस्ताका स्याटलाइट सञ्चालनमा आएसँगै टेस्लाका कारले समेत स्टारलिङ्कको स्याटलाइटमार्फत आएको नेटवर्कमा काम गर्नेछ ।

हाल टेस्ला कारमा अमेरिकी दूरसञ्चार कम्पनी एटी एण्ड टीको एलटीई नेटवर्कले काम गर्दै आएको छ । तर, भोलिका दिनमा भने स्टारलिङ्क स्याटलाइट नेटवर्कले नै काम गर्ने उनले ट्वीटरमार्फत जानकारी दिएका छन् । 

‘के टेस्लाले पनि यो प्रिमियम कनेक्टिभिटी प्राप्त गर्ला ?’ भन्ने प्रश्न गर्ने एक जना ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै उनले सहज रूपमा ‘एस’ अर्थात हुन्छ भनेका छन् । उनले कसरी काम गर्नेछ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।

तर, उनको छोटो जवाफले भोलिका दिनमा टेस्लाका कार समेत स्टारलिङ्कको नेटवर्कमा कनेक्ट हुने अपेक्षा भने गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३