close

घरेलु हिंसाको भिडिओ रेकर्ड गर्ने नाबालकलाई प्रहरीको सम्मान

टेकपाना टेकपाना

भदौ ११, २०७९ १४:३१

घरेलु हिंसाको भिडिओ रेकर्ड गर्ने नाबालकलाई प्रहरीको सम्मान

काठमाडौं । घरेलु हिंसाको भिडिओ रेकर्ड गर्ने नाबालकलाई जिल्ला प्रहरी कार्यालय अछामले सम्मान गरेको छ । गत भदौ ७ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका-६ मा बुहारीले सासुलाई लछारपछार गरेको घटना केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्ने ११ वर्षीय बालक दिपेन्द्र न्यौपानेलाई जिल्ला प्रहरी कार्यलयले कदर पत्रद्वारा सम्मान गरेको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालले जानकारी दिए ।

“समाजमा लुकेका आपराधिक क्रियाकलापलाई प्रविधिको प्रयोग गरी बाहिर ल्याउन सफल भएकाले हामीले वहाँलाई सम्मान गरेका हौँ,” उनले भने, “पछिल्लो समय सामाजिक सञ्जाल तथा प्रविधिको विकृति बढिरहेको अवस्थामा यो घटनाले समाजमा सकारात्मक सन्देश दिएको छ ।”

उक्त नाबालकले सो घटना मिलाउन नसक्ने अवस्था आएपछि भिडिओ रेकर्ड गरेका थिए । रेकर्ड गरेको भिडिओ आफन्त तथा छिमेकीका माध्यमबाट बाहिर आउन सफल भएको थियो । कतिपय आपराधिक क्रियाकलापको सूचना ढिलो आउनाले र उपयुक्त प्रमाण नहुँदा पीडितलाई न्याय दिन ढिलो हुने गरेको उनको बुझाइ छ ।

यस्तो अवस्थामा सूचना तथा प्रविधिको प्रयोगले समाजमा लुकेर बसेका घटना तत्कालै बाहिर ल्याउन सघाउने उनले बताए । यदि समाजमा त्यस्ता कुनै पनि घटना लुकेर रहेका छन् भने सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरेर अपराध न्यूनिकरणमा सहभागी हुन रिजालले अपिल गरेका छन् ।

एक कार्यक्रमको आयोजना गरी बालकलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।  सो अवसरमा मन्त्री डाक्टर रण बहादुर रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गरेका थिए ।

बालकलाई मन्त्रीबाट सम्मान पत्र प्रदान गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको कार्यालय अछामको  भवन, ब्यारेक, मेष, र विभिन्न शाखाहरूको निरीक्षण गरिएको छ ।  हाल कुटपिटमा परेकी सासूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने पीडक दुई जनालाई पक्राउ गरी थुनामा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३