काठमाडौं । प्रयोगकर्ताको सहजतालाई ध्यानमा राख्दै एलजीले नयाँ फोरके मनिटर ल्याउने तयारी गरेकाे छ ।
यो मनिटरमा प्रयोग गरिएको आर्टिफिसियल इन्टलिजेन्सले प्रयोगकर्ताको बसाइँलाई ध्यानमा राखेर आफ्नो डिस्प्ले आफैं मिलाउन सक्छ । अर्थात मानिस कसरी बसेको छ, त्यसैगरी डिस्प्ले स्वतः मिल्नेछ ।
यही सेप्टेम्बर २ देखि ६ सम्म आयोजना हुन गइरहेको आईएफए २०२२ कार्यक्रममा एलजीले आफ्नो अल्ट्रा फाइन डिस्प्ले एर्गो एआई ३२यूक्यू८९० माेडलकाे याे मनिटर प्रदर्शन गर्ने घोषणा गरेको छ ।
यो डिस्प्लेले प्रयोग गरिएको एआई क्यामेराले प्रयोगकर्ताको आँखा कतातिर फर्किएको छ, त्यतैतिर डिस्प्लेलाई एडजस्ट गर्न मद्दत गर्छ ।
साथै प्रयोगकर्ता एकै तरिकाले लामो समयसम्म बसिरहेको अवस्थामा बसेको तरिका परिवर्तन गर्न पनि यो डिस्प्लेले प्रयोगकर्तालाई सूचित गराउने कम्पनीको दाबी छ ।
डिस्प्लेमा उपलब्ध ‘कन्टिनियस मोड’ र ‘पिरियोडिक मोड’मार्फत प्रयोगकर्ताको बसाइँलाई नियन्त्रण गरिने कम्पनीले बताएको छ ।
प्रयोगकर्ताले जताबाट हेरे पनि डिस्प्लेमा भएको एआई क्यामेराले डिस्प्लेलाई स्वतः मिलाइदिनेछ र मानिसले घरीघरी आफैँले मनिटर मिलाइरहनुपर्ने छैन ।
३१.५ इन्चको यो डिस्प्लेमा ६० हर्जको रिफ्रेसरेट हुने बताइएको छ । डिस्प्लेको ब्राइटनेस लगायतका फिचरबारे भने जानकारी आउन बाँकी नै छ ।