काठमाडौं । अब घर भाडामा बस्नेले पनि छुट्टै मिटर राख्न पाउने भएका छन् । घरधनीले आफूखुसी बिजुली शुल्क उठाएको गुनासा आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हाे ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हाल यो व्यवस्था मध्यम रुपमा लागू भइरहेको छ । “घरबेटीले बिजुलीको शुल्क जथाभावी उठाएको गुनासा आएकाले यसलाई नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको हो,” उनले टेकपानासँग भने, “भाडामा बस्नेले आफूले चाहेको खण्डमा प्राधिकरणलाई निवेदन दिएर मिटर राख्न सक्नेछन् ।”
भाडामा बस्नेले व्यक्तिले आफ्ना लागि छुट्टै बिजुलीको मिटर जडान गर्नुपरे घरधनीको सहमति चाहिने व्यवस्था गरिएकाे छ । ‘’भाडामा बस्नेले आफ्नो लागि छुट्टै मिटर चाहिएमा घरधनीको सहमतिसहितको आवेदन प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ,’’ उनले भने ।
हाल प्राधिकरणले घरायसी प्रयोजनका लागि न्यूनतम प्रति महिना २० युनिटसम्म बिजुली प्रयोग गर्ने ग्राहकलाई एकमुस्ट ३० रुपैयाँ मात्र लाग्ने व्यवस्था गरेको छ ।
यसपछि भने २१ देखि ३० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई प्रति युनिट ६.५० रुपैयाँ, ३१ देखि ५० युनिट खपत गर्नेलाई प्रति युनिट ८ रुपैयाँ, ५१ देखि १०० युनिटसम्म खपत गर्नेले प्रति युनिट ९.५० रुपैयाँ र मासिक १०१ देखि २५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले न्यूनतम शुल्कमा ९.५० प्रति युनिट शुल्क तिर्नुपर्ने व्यवस्था छ ।