close

सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेनः कुन सक्कली कुन नक्कली ?

टेकपाना टेकपाना

भदौ १३, २०७९ १४:४६

सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेनः कुन सक्कली कुन नक्कली ?

काठमाडौं । र्‍याप सङ्गीत क्षेत्रमा स्थापित बालेन शाहका लागि काठमाडौंको मेयरमा निर्वाचित हुन सामाजिक सञ्जालले निर्णायक स्तरकै भूमिका खेल्यो । मेयर निर्वाचित भएपछिका गतिविधिले सामाजिक सञ्जालमा उनको चर्चापरिचर्चा झनै व्यापक बन्दै  गएको छ । 

बालेनको लोकप्रियतासँगै सामाजिक सञ्जालमा उनका अनेक अकाउन्ट देखिन थालेका छन् । यस्तोमा उनका समर्थकलाई समेत कुन सक्कली अनि कुन चाहिँ नक्कली छुट्ट्याउन मुस्किल भएको देखिन्छ । 

केही दिन अघि नयाँ बानेश्वर स्थित अल्फाबिटाको पार्किङ स्थलमा निर्मित अवैध संरचनामा डोजर चलेपछि एमाले सांसद महेश बस्नेत खुलेरै विरोधमा उत्रिए । बस्नेतको फेसबुक कमेन्टमा बालेन शाहले व्यङ्ग्यात्मक कमेन्ट गरे ।

त्यही कमेन्टलाई लिएर नेता बस्नेतले फेरि बालेनले अर्को विवादित कमेन्ट गरे । तर उनका केही समर्थक उक्त कमेन्ट नक्कली अकाउन्टबाट गरिएको दाबी गरिरहेका थिए । 

आइतबार बालेनले आफूलाई धरानका मेयर ‘हर्क साम्पाङसँग तुलना नगर्नु’ भन्दै सामाजिक सञ्जालमा लेखेको ठाने । कतिपय अवस्थामा त सामाजिक सञ्जालमा असंयमित देखिने साम्पाङले समेत बालेनको नामका नक्कली अकाउन्टबाट भएका पोस्टलाई आधार बनाउने गरेका छन् ।

यस्तोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाममा रहेका सामाजिक सञ्जाल अकाउन्ट कुन सक्कली अनि कुन नक्कली भन्ने कुरा छुट्याउन धेरैलाई दुबाधा परिरहेको देखिन्छ । आज हामी उनी सक्रिय रहने सक्कली सामाजिक सञ्जाल अकाउन्ट कुन कुन हुन् भन्ने विषयमा चर्चा गर्दै छौँ । 

१. बालेन नामको फेसबुक पेज

बालेनको नाममा एउटा आधिकारिक फेसबुक पेज छ । १० लाखभन्दा बढी फलोअर रहेको यो भेरिफाइड फेसबुक पेजबाट उनले यो समाचार सामग्री तयार पार्दासम्म ३२० ओटा पेज तथा अकाउन्टलाई फलो गरेका छन् ।

खासगरी उनले मेयरको रूपमा आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न यही फेसबुक पेज प्रयोग गर्दै आएका छन् ।

२. Balen Shah (बालेन) फेसबुक आईडीः 

फेसबुकमै मेयर बालेनको एउटा व्यक्तिगत अकाउन्ट पनि छ । भेरिफाइड नरहेको अकाउन्टलाई एक लाख ८४ हजारभन्दा धेरैले फलो गरेका छन् (यो समाचार तयार पार्दासम्म) ।

करिब सन् २०१२ ताका खोलिएको यो अकाउन्टबाट उनले बेलाबखत आफ्नो आधिकारिक फेसबुक पेजमा रहेका पोस्ट, अन्य सामाजिक सञ्जालका पोस्ट, व्यक्तिगत तथा पेशागत, औपचारिक तथा अनौपचारिक सामग्रीहरू शेयर गरिरहेका हुन्छन् ।  

३. इन्स्टाग्राम

बालेन शाहको एउटा इन्स्टाग्राम आईडी छ, जसमा यो समाचार सामग्री तयार पार्दासम्म एक लाख ५७ हजार फलोअर रहेका छन् । तर उनले यो आईडीबाट कसैलाई पनि फलो गरेका छैनन् ।

बालेनले यो इन्स्टाग्राम आईडीबाट समेत आफ्नो व्यक्तिगत, पेशागत र मेयरको रूपमा पोस्टहरू गर्ने गरेका छन् । 

४.  टिकटक

बालेन शाहको टिकटक अकाउन्ट पनि छ, जसमा उनलाई फलो गर्नेहरूको सङ्ख्या एक लाख १६ हजारभन्दा बढी छ । कहिलेकाहिँ टिकटक भिडिओ बनाएर पोस्ट गर्ने यो अकाउन्टबाट उनले जम्माजम्मी एकजनालाई मात्र फलो गरेका छन् । बालेनको यो टिकटक अकाउन्ट भेरिफाइड छैन (समाचार सामग्री तयार पार्दासम्म) । 

५. ट्वीटर

मेयर बालेन शाह ट्वीटरमा समेत सक्रिय छन् । उनलाई भेरिफाइड नभएको यो ट्वीटर अकाउन्टमा ९२ हजारभन्दा धेरैले फलो गरेका छन् । तर उनले फलो गर्नेको सङ्ख्या भने शून्य छ । युजरनेम एट शाहबालेन (@ShahBalen) रहेको ट्वीटर अकाउन्टमा उनी एकदमै थोरै सक्रिय हुन्छन् । हालसम्म उनले यो अकाउन्टबाट जम्मा १४२ ओटा ट्वीट मात्र गरेका छन् । 

६. लिङ्कडिन

बालेन शाहले आफ्नो पेशागत प्रोफाइलका लागि लिङ्कडिन अकाउन्ट समेत बनाएका छन् । करिब २२ हजार फलोअर रहेको यो अकाउन्टमा भने उनी खासै सक्रिय देखिँदैनन् । यद्यपि चुनावताका उनले लिङ्कडिनबाट समेत प्रचार प्रसार गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३