काठमाडौं । अहिले मोबाइल डेटाभन्दा पनि वाई-फाईबाट इन्टरनेट चलाउने प्रयोगकर्ताको सङ्ख्या बढी छ । मोबाइल डेटाको तुलनामा वाई-फाई सस्तो पर्ने भएकाले धेरैले व्यापारिक तथा व्यक्तिगत प्रयोजनका लागि वाई-फाई बढी प्रयोग गर्ने गर्छन् ।
कतिपय यस्तो परिस्थिति आइदिन्छ, जसमा उपभोक्ताले प्रयोग गरिरहेको वाई-फाई (इन्टरनेट) छोड्नुपर्ने हुन्छ । अन्य कसैलाई आफ्नो वाई-फाई प्रयोग गर्न दिँदा के-कस्ता जोखिम आउनसक्छन् भन्ने कुराको जानकारी नहुँदा धेरैले आफूले प्रयोग गरिरहेको वाई-फाई बिक्री गरिरहेका हुन्छन् ।
आज हामीले त्यसरी वाई-फाई खरिद गर्ने वा बिक्री गर्नेलाई के-कस्ता समस्या आउनसक्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।
कतिपय अवस्थामा बसाइँ सर्ने क्रममा आफ्नो वाई-फाई बिक्री गर्ने अभ्यास पनि छ । त्यसबीचमा नामसारीका प्रक्रिया पनि रहेका छन् ।
तर, प्रक्रिया सहज नामसारी गर्न केही समय लाग्दा उनीहरू सहज बाटो अपनाएर नामसारी गर्नु आवश्यक ठान्दैनन् ।
तपाईंको वाई-फाई अन्य व्यक्तिले प्रयोग गर्दा कस्ता जोखिम आउन सक्छन् ?
विविध परिस्थितिले वाई-फाई अरूलाई प्रयोग गर्न दिँदा सो वाई-फाईलाई आधिकारिक रूपमा खरिद गर्ने व्यक्तिले विभिन्न समस्याको सामना गर्नुपर्ने अवस्था आउनसक्छ ।
टेकपानासँग कुरा गर्दै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका मार्केटिङ हेड तेन्जिङ टेनले भने, “अर्काको नाममा भएको वाई-फाई खरिद गर्नु र आफ्नो नामको वाई-फाई अरूलाई बिक्री गर्नु गैरकानूनी हो । त्यसबाहेक पनि अरूको वाई-फाई प्रयोग गर्दा अकाउन्ट ह्याक हुने, डेटा चोरी हुनेजस्ता समस्या आउन सक्छन् ।”
अन्य व्यक्तिलाई आफ्नो वाई-फाई प्रयोग गर्न दिँदा जोखिम हुने भएकाले विभिन्न इन्टरनेट सेवा प्रदायकसँग नामसारी गर्न मिल्ने सुविधा भएको उनी बताउँछन् ।
त्यसका लागि प्रयोगकर्ताको युजरनेम बाहेक अन्य सबै विवरण परिवर्तन गर्न सकिन्छ ।
यसै विषयमा साइबर सुरक्षा जानकार एवं भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बू भन्छन्, “अन्य व्यक्तिलाई वाई-फाई बिक्री गर्दा सो व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी वाई-फाई जुन प्रयाेजनका लागि खरिद गरिएको हो । त्यही परियोजनका लागि प्रयोग गर्नुपर्छ ।”
उनी अगाडि भन्छन्, “यदि व्यक्तिगत प्रयोगका लागि खरिद गरिएको हो भने व्यक्तिगत तरिकाले र व्यवसायिक प्रयोजनका लागि खरिद गरिएको हो भने व्यावसायिक तरिकाले प्रयोग गर्नुपर्छ ।”
वाई-फाईको पासवर्ड पाएकाे व्यक्तिले सो वाई-फाई प्रयोग गरी गैरकानूनी काम गरेको छ भने इन्टरनेट कसको नाममा छ, त्यही व्यक्ति फस्ने सम्भावना बढी हुने गरेको उनले बताए ।
“यस्ता धेरै घटना बाहिर आएका छन्,” लिम्बूले भने, “एक पटक ह्याकरले छिमेकीको वाई-फाई ह्याक गरी अन्य व्यक्तिको सामाजिक सञ्जालको अकाउन्ट ह्याक गरेका थिए । अनुसन्धान गर्दै जाँदा एउटा वाई-फाईको आईपी एड्रेस ट्रयाक गरियो, जसबाट अकाउन्ट ह्याक गरेको पाइयो । सो घटनालाई अनुसन्धान गर्दा जसको नाममा वाई-फाई थियो, उनलाई प्रहरीले पक्राउ गर्यो । पछि घटना बुझ्दै जाँदा उनको वाई-फाई ह्याक गरी अन्य व्यक्तिको अकाउन्ट ह्याक गरेको पाइयो । यसरी वाई-फाईको पासवर्ड अन्य व्यक्तिलाई दिँदा पनि जोखिम हुन्छ ।”
यदि कसैले वाई-फाई अर्कालाई बेच्नुपर्यो भने नामसारी गरेर बेच्न सकिन्छ । त्यसलाई विभिन्न इन्टरनेट सेवा प्रदायकले सहज बनाएका छन् ।
अरूको वाई-फाई खरिद गर्दा कस्तो जोखिम आउनसक्छ ?
अन्य प्रयोगकर्ताको वाई-फाई प्रयोग गर्दा के जोखिम होला र भन्ने धेरैको प्रश्न हुनसक्छ । वास्तवमा अर्काको वाई-फाई प्रयोग गर्दा पनि थुप्रै जोखिम हुनसक्छ ।
यदि कुनै वाई-फाई ह्याकरको नियन्त्रणमा छ भने त्यसले ठूलो जोखिम निम्त्याउन सक्छ । अरूको नाममा भएको वा अरूको पहुँचमा भएको वाई-फाई प्रयोग गर्दा डेटा चोरी हुने, अकाउन्ट ह्याक हुने जोखिम रहेकाे लिम्बू बताउँछन् ।
“अन्य व्यक्तिको वाई-फाई प्रयोग गर्दा डेटा चोरी हुने सम्भावना हुन्छ,” लिम्बूले भने, “अन्य व्यक्तिको नाममा भएको वाई-फाई खरिद गर्दा पनि नामसारी गरेर पूर्ण रूपमा रिसेट गरेर खरिद गर्नु उत्तम हुन्छ ।”
यसरी आफूले प्रयोग गरिरहेको वाई-फाई सुरक्षित छ/छैन भन्ने कुरामा प्रयोगकर्ता आफैं सतर्क हुनुपर्ने लिम्बुको भनाइ छ ।