close

यस्ता छन् विद्युत प्राधिकरणका ईभी चार्जिङ स्टेसन रहने ५१ स्थान 

टेकपाना टेकपाना

भदौ १५, २०७९ १२:२०

यस्ता छन् विद्युत प्राधिकरणका ईभी चार्जिङ स्टेसन रहने ५१ स्थान 

काठमाडौं । देशभित्रै विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति अनुरूप नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ५१ स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउँदैछ । जसअनुसार मङ्गलबार रत्नपार्क स्थित प्राधिकरणकै प्राङ्गणमा स्थापना गरिएको पहिलो चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ । 

पेट्रोलियम पदार्थ आयातमा चर्को रकम खर्च भइरहेको अवस्थामा व्यापार घाटा कम गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्राधिकरणको यस किसिमको अग्रसरताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । विगतमा लोडसेडिङको समयमा विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दे आन्तरिक रुपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए ।

विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ । प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइरहेका छन् ।

त्यसमध्ये २६ ओटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार  र २५ वटा  साना तथा ठूला कारहरू चार्ज गर्न मिल्ने रहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन हुने तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलो मिटर खर्च लाग्ने प्राधिकरणको आँकलन छ । नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेका ब्याट्री क्षमता अनुसार कम्तिमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज फुल चार्ज हुन सक्छन् ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलो वाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन् ।

यसबाट ठूला बससहित तीन ओटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ । चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मत सम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डेटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।

५१ ओटै स्टेसनको कन्ट्रोल काठमाडौंबाटै हुनेछ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

प्राधिकरणका चार्जिङ स्टेसन रहने स्थान

क्र. सं.चार्जर रहने स्थानजम्मा सङ्ख्या
१.बिर्तामोड बसपार्क, झापा
२.दमक चार्जिङ केन्द्र, झापा
३.विराटनगर बसपार्क, मोरङ
४.इनरुवा बसपार्क, सुनसरी
५.बेलका चार्जिङ केन्द्र, उदयपुर
६.प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, सप्तरी
७.हरिवन रिफ्रेश सेन्टर, सर्लाही
८.इलाका प्रहरी कार्यालय, निजगढ, बारा
९.हेटौँडा चार्जिङ सेन्टर, रातामाटे, मकवानपुर
१०.पारस बसपार्क, चितवन
११.मुग्लिन पुल, चितवन
१२.इलाका प्रहरी कार्यालय, खानीखोला, धादिङ
१३.साझा सेवा, बल्खु काठमाडौं
१४.साझा यातायात, ललितपुर
१५.साझा सेवा, बनेपा
१६.नेपाल पुलिस क्लब, काठमाडौं
१७.नेपाल विद्युत प्राधिकरण, काठमाडौं
१८.लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवल, रूपन्देही
१९.इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी
२०.भैरहवा बसपार्क रूपन्देही
२१.इलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु
२२.लमही नयाँ बसपार्क, दाङ
२३.नेपाल एपीएफ स्कुल, कोहलपुर, बाँके
२४.सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी, कैलाली
२५.नयाँ बसपार्क, सुर्खेत
२६.पर्यटक बसपार्क, पोखरा, कास्की
२७.लेकसाइड कास्की
२८.बसपार्क र हावा घर, नुवाकोट
२९.सिन्धुलीगढी बसपार्क, सिन्धुली
३०.खुर्कोट रिफ्रेश सेन्टर, सिन्धुली
३१.इलाका प्रहरी कार्यालय, बर्दिवास, महोत्तरी
३२.सशस्त्र प्रहरी बल, शैलेश्वरी, कञ्चनपुर
जम्मा५१

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३