काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम तथा बिगोमा साथी बनाई अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध भृकृटीचोक बस्ने ३२ वर्षीय जेम्स लामा रहेका छन् ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेका अनुसार आरोपित तामाङले सामाजिक सञ्जाल इन्स्टाग्राम र बिगोमा पीडित महिलालाई साथी बनाएर लोभलालच देखाई अश्लीलता प्रदर्शन गर्न लगाउँथे ।
सोही क्रममा लिइएको स्क्रिनशटको आधारमा उनले बारम्बार ब्ल्याकमेल र मानसिक यातना दिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
उनले महिलाबाट बारम्बार आर्थिक लाभ लिन खोजेको र उक्त योजना सफल नभएपछि सामाजिक सञ्जालमा अपलाेड गर्ने धम्की दिएका थिए ।
यसरी बारम्बार मानसिक यातना र धम्की दिन थालेपछि पीडित महिलाले साइबर ब्यूरोमा उजरी गरेकी थिइन् ।
सोही उजुरीको आधारमा साइबर ब्यूरोको टोलीले गत सोमबार काठमाडौं अदालतबाट पक्राउ आदेश लिई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा तामाङलाई पक्राउ गरी अनुसन्धान थालेकाे छ ।
तामाङ दोषी ठहरिएको खण्डमा उनलाई ५ वर्षसम्मको कैद वा एक लाख नगद जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको ब्यूराेका प्रवक्ता रायले जानकारी दिए ।