close

आईफोन चलाउन चाहन्छन् ५० प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता, कारणमा सुरक्षा र गोपनीयता

टेकपाना टेकपाना

भदौ १५, २०७९ २१:१७

आईफोन चलाउन चाहन्छन् ५० प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता, कारणमा सुरक्षा र गोपनीयता

काठमाडौं । स्मार्टफोनको माग बढ्दै जाँदा अहिले बजारमा नाम चलेका स्मार्टफोनमा आईफोन र एन्ड्रोइड फोन मात्र रहेका छन् । यी दुवै फोन एकअर्काको प्रतिस्पर्धीको रुपमा बजारमा उभिएका छन् ।

यी दुवै फोनले प्रयोगकर्ताको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवामा समय अनुसार अनेकौँ परिवर्तन र प्रयोग गर्दै आएका छन् । हरेक वर्ष विभिन्न अपडेटहरू मार्फत अपरेटिङ सिस्टममा नयाँ फिचरहरू समेत थप्ने गर्छन् । 

आईओएस र एन्ड्रोइडको प्रतिस्पर्धा प्रयोगकर्ताको सुरक्षाको सवालमा पनि छ । यस विषयलाई लिएर धेरै विवाद र छलफल हुने गरेको छ । एन्ड्रोइडको तुलनामा आईओएस नै सुरक्षित हुने कतिपयको विश्वास छ ।

तर एन्ड्रोइडको सुरक्षामा सन्तुष्ट हुने प्रयोगकर्ता पनि उत्तिकै छन् । हालै भएको एक अध्ययनमा भने करिब ५० प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले आईओएस बढी सुरक्षित हुने विश्वास गर्ने गरेको पाइएको छ । 

बियोन्ड आइडेन्टिटी नामक अमेरिकी कम्पनीले गरेको एक अध्ययन अनुसार ४९ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता आईओएसमा स्विच हुने विषयमा सोचिरहेका छन् । कम्पनीले गरेको सर्वेक्षणमा ४९ प्रतिशत प्रयोगकर्ताले सुरक्षालाई कारण देखाउँदै एन्ड्रोइडबाट आईओएसमा जाने योजना बनाइरहेको बताएका थिए ।

आईओएसको तुलनामा एन्ड्रोइडमा धेरै ह्याकिङ, मालवेयर इन्स्टलेसन लगायतका गतिविधिहरू हुने गरेका कारण एन्ड्रोइडमा आफू सुरक्षित नभएको उनीहरूले बताएको सर्वेक्षणमा उल्लेख छ । 

समयसमयमा एन्ड्रोइड फोनमा उपलब्ध हुने एपहरू धेरै ‘मालिसियस’ (दुर्भावना र दुराशययुक्त) हुने गरेको पनि प्रयोगकर्ताको गुनासो छ । पछिल्ला केही दिनहरूमा भने आईओएस एप स्टोरमा भएका एपहरूमा पनि मालवेयर फेला परेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३