काठमाडौं । विश्वकै सर्वाधिक लाेकप्रिय मेसेजिङ एप हाे, ह्वाट्सएप । समय समयमा प्रयोगकर्ताका लागि उपयुक्त हुने फिचर थप गर्दै लगिरहेको ह्वाट्सएपका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि विश्वभरका दुई अर्ब बढी प्रयोगकर्ता रहेका छन् ।
यो एपले जति सजिलोगरी हाम्रो दैनिकी बनाएको छ, सँगसँगै त्यति नै जोखिम पनि निम्त्याएको छ । आज हामी तपाईँलाई सुरक्षित तरिकाले ह्वाट्सए चलाउने तथा ह्याकरबाट जोगिने केही महत्त्वपूर्ण उपायहरू बताउँदै छौँ ।
१) टु-स्टेप भेरिफिकेसन अन गर्नुहोस्
इन्टरनेटमा सुरक्षित रहन तपाईँले आफ्ना सबैजसो सामाजिक सञ्जाल अकाउन्टमा टु-स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ । टु-स्टेप भेरिफिकेसन अन गरेको खण्डमा तपाईँको आईडी र पासवर्ड पाउँदा पनि अर्को व्यक्तिले आफ्नो डिभाइसमा तपाईँको अकाउन्ट लगइन गर्न सक्दैन ।
लगइन गर्नका लागि विशेष कोडको आवश्यकता पर्छ, जुन तपाईंको फोनमा एसएमएस मार्फत आउँछ । ह्वाट्सएप अकाउन्ट अरूको पहुँचमा हुँदा सो व्यक्तिले गोप्य मेसेजहरू पढ्ने वा नजिक हुने मानिसहरूसँग पैसा सापटी माग्ने जस्ता काम गरिदिन सक्छ ।
त्यसैले टु-स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ । ह्वाट्सएपमा टु-स्टेप भेरिफिकेसन अन गर्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि माथि दायाँपट्टि भएको तीनओटा डटमा ट्याप गर्नुहोस् ।
अब अन्तिममा रहेको सेटिङको अप्सनमा जानुहोस् । सबैभन्दा पहिले भएको अकाउन्टको अप्सनमा जानुहोस् ।
अनि टु-स्टेप भेरिफिकेसन (Two-step verification) मा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि अन्तिममा रहेको इनेबल अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ त्यस्ता ६ अङ्क राख्नुहोस्, जुन तपाईंलाई बाहेक अन्य कसैलाई थाहा नहोस् ।
तल रहेको नेक्स्टमा ट्याप गरेर पुनः त्यही नम्बर राख्नुहोस् ।
आफ्नो अर्को पेजमा तपाईँको ईमेल मागिएको हुन्छ । त्यहाँ आफ्नो ईमेल राख्नुहोस् ।
अब ईमेल एड्रेस राखेर पुनः ईमेल कन्फर्म गर्नुहोस् ।
त्यसपछि सेभ अप्सनमा जानुहोस् र लगत्तै तल आउने डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् । यसरी तपाईँले आफ्नो ह्वाट्सएप अकाउन्टका लागि टु-स्टेप भेरिफिकेसन अन गर्न सक्नुहुन्छ ।
२) सेक्युरिटी नोटिफिकेसन अन गर्नुहोस्
ह्वाट्सएपमा सेक्युरिटी नोटिफिकेसन अन राख्दा तपाईँ केही हदसम्म सुरक्षित रहन सक्नुहुन्छ । यदि केही गरी तपाईँको अकाउन्ट ह्याक भयो भने तपाईँको कन्ट्याक्ट लिस्टमा हुने सबै प्रयोगकर्तालाई तपाईँको अकाउन्ट ह्याक भएको सन्देश जान्छ ।
त्यसो हुँदा अन्य प्रयोगकर्ता ठगिनबाट जोगिन सक्छन् । सेक्युरिटी नोटिफिकेसन अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गरेर सेटिङ अप्सन छान्नुहोस् ।
अनि अकाउन्टमा गएर सेक्युरिटीमा जानुहोस् ।
अब त्यहाँ रहेको शो सेक्युरिटी नोटिफिकेसन अन दिस डिभाइस भन्ने अप्सन अन गर्नुहोस् ।
३) ह्वाट्सएपको प्रोफाइल फोटो लुकाउनुहोस्
हामीले जसरी आफ्ना अन्य सामाजिक सञ्जाल अकाउन्टमा प्रोफाइल राख्छौँ, त्यसरी ह्वाट्सएपमा भने राख्नु हुँदैन । यसमा विशेषगरी महिलालाई जोखिम हुन सक्छ ।
कुनै पनि व्यक्तिले नम्बर पाएकै आधारमा विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा तपाईँलाई पछ्याउन सक्छ । अथवा भनौँ कतिपय अवस्थामा त्यस्ता फोटोको दुरुपयोग भइदिन सक्छ । त्यसैले फोटो लुकाउनु पर्ने हुन्छ । फोटो लुकाउन निम्न प्रक्रिया पच्छ्याउनु होस् ।
सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । माथि दायाँपट्टि रहेको तीनओटा डटमा ट्याप गरेर सेटिङमा जानुहोस् ।
त्यसपछि प्राइभेसीमा गएर प्रोफाइल फोटोमा जानुहोस् ।
यति गरेपछि ‘माइ कन्ट्याक्ट’ वा ‘नोबडी’मा राख्नुहोस् ।