close

नेपाली विद्यार्थीले यसरी बनाए बिजुली ‘डर्ट बाइक’, ब्याक गियरदेखि ब्रेक लाउँदा चार्ज हुनेसम्मका फिचर

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १६, २०७९ २०:७

नेपाली विद्यार्थीले यसरी बनाए बिजुली ‘डर्ट बाइक’, ब्याक गियरदेखि ब्रेक लाउँदा चार्ज हुनेसम्मका फिचर

काठमाडौं । सामूहिक कामको सुरुवात आपसी विश्वासबाटै हुन्छ । यसरी थालिएको काम सार्थक पनि हुन्छ । थापाथली इन्जिनियरिङ क्याम्पसबाट अटोमोबाइल इन्जिनियरिङमा स्नातक तह चौथो वर्षको जाँच दिएर बसेका चार जना विद्यार्थी यही सूत्रमा बाँधिए । 

चार वर्षअघि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा उत्तीर्ण भएपछि इटहरीका आदित्य आचार्य र विराटनगरका अस्तित्व मादेम्बा र काठमाडौंका निकेश बज्राचार्य तथा ऋषभ गड्तौलाको भेट थापाथली इन्जिनियरिङ क्याम्पसमा भयो ।

उनीहरू पहिलो भेटबाटै एकअर्कासँग नजिकिए । अटोमोबाइल इन्जिनियरिङ यी विद्यार्थीले भेटघाटमा कुनै दिन बाइक बनाउने योजना बनाए ।

समयसँगै इन्जिनियरिङको पढाइ अघि बढ्दै गयो । क्याम्पसमा हुने कार्यक्रमहरूमा चार जनाको यो समूह एउटै टिम बनेर सहभागी हुन्थ्यो । यसैक्रममा समूहको नाम ‘टिम फ्यारो’ राखे । यसरी विभिन्न परियोजनामा काम गर्न थाले ।

त्यसैबीच चौथो वर्षमा अध्ययन गर्दा उनीहरूलाई एउटा परियोजनामा काम गर्नुपर्ने भयो । त्यसमा उनीहरूले विद्युतीय बाइक बनाउने निधो गरे । “अहिलेको बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ,” अस्तित्व भन्छन्, “हामी विद्यार्थीका लागि पनि महँगो इन्धन त्यति सहज हुँदैन । त्यसैले पनि हरेक विद्यार्थीलाई उपयुक्त होस् भन्ने सोचेर हामीले विद्युतीय बाइक बनाउने योजना बनायौँ ।”

बाइकको परिकल्पनात्मक रिपोर्ट क्याम्पसबाट स्वीकृत भएपछि उनीहरू खोज तथा अनुसन्धान (आर एन्ड डी) मा लागे । यस क्रममा उनीहरूको मुख्य चासो कस्तो बाइक बनाउँदा नयाँ पुस्ताका युवालाई आकर्षित गर्न सकिन्छ भन्नेमा थियो । अनि त्यसको अनुसन्धान गर्न थाले । “हामीलाई अरूले बनाएको जस्तो डिजाइनमा बनाउनु थिएन,” मादेम्बा भन्छन्, “नेपालको बाटो सुहाउँदो र युवा पुस्ताले रुचाउने किसिमको डिजाइन गर्नु थियो ।” 

यही कुरालाई मध्यनजर गर्दै उनीहरूले अनुसन्धानको काम अगाडि बढाए । खोज तथा अनुसन्धान गर्ने बेलाको समय सम्झिँदै निकेश बज्राचार्य भन्छन्, “हामीले कक्षामा सैद्धान्तिक कुरा धेरै नै पढाइएको हुन्छ । बाहिरबाट हेर्दा जति सजिलै पाटपुर्जा जोडेजस्तो देखिन्छ, त्यति सजिलो छैन भन्ने कुरा पनि हामीले पढ्ने क्रममै जान्ने मौका पाएका थियौँ । हामीले हरेक कोणबाट हेर्नुपर्ने थियो । यसलाई सस्तो बनाउने चुनौती एक ठाउँमा थियो भने सुरक्षित, भरपर्दो र दिगो बनाउने चुनौती अर्को ठाउँमा थियो ।”

यस्ता सबै चुनौतीलाई सम्बोधन गरेर विद्युतीय बाइक निर्माण गर्ने कार्य त्यति सहज थिएन । उनीहरूले तयार पारेको बाइकमा केही समस्या भए दोष उनीहरूको पढाइलाई जाने निश्चित थियो । त्यसैले यी सबै कुरालाई मध्यनजर गर्दै काम अगाडि बढाउनु पर्ने जिम्मेवारी उनीहरूको काँधमा थियो ।

हरेक चुनौतीलाई सामना गर्दै उनीहरूले चार महिना लगाएर बाइकको डिजाइन तयार पारे । बाइकको डिजाइन त बन्यो, तर त्यो नै सफलता थिएन । सामुन्ने उक्त सैद्धान्तिक डिजाइनलाई वास्तविक रूप दिनुपर्ने चुनौती थियो । बाइकको डिजाइन सकेपछि त्यसको नाम के राख्ने भन्ने कुरा आयो ।

“हामीले बाइकको डिजाइन मात्र तयार पारेका थियौँ,” बज्राचार्यले भने, “यसको नाम के राख्ने भन्ने कुरामा द्विविधा थियो । हामीले हाम्रो टिमको नाम त यत्तिकै राखेका थियौँ । बाइकलाई भने अर्थपूर्ण नाम दिनुपर्ने थियो । हामी चारै जनाले सुरुवाती दिनबाट छुट्टै समूह बनाएका थियौँ । पढाइमा राम्रै भए पनि अन्य कुरामा हामी हरामी हौँ । कलेजमा हरामी केटाहरू को हुन् भन्दा हाम्रो नाम सबैभन्दा पहिले आउँथ्यो । त्यसैले क्याम्पसमा पाएको उपमा हामीले हाम्रो क्रियसनलाई दिने निधो गर्‍यौँ । त्यसैले यो बाइकको नाम ‘ब्याड बोइ’ राखियो ।”

खोज र अनुसन्धानको काम थालेपछि अब भौतिक काम सुरु गर्नु पर्ने थियो । उनीहरूका लागि काम खासै गाह्रो थिएन । गाह्रो त केबल त्यसका लागि उपयुक्त सामग्री जुटाउनु थियो । “हामीले अनुसन्धानको काम सकेका थियौँ,” टिमका अर्का सदस्य ऋषभ गर्तौला त्यो पल सम्झिँदै भन्छन्, “अब त्यसका लागि नेपाली उत्पादन प्रयोग गर्ने योजना बनाएका थियौँ । तर, सबै सामग्री नेपालमा पाउनै गाह्रो । त्यसैले हामीले प्रायः सामान बाहिरबाट ल्याएर प्रयोग गर्‍यौँ ।”

“विभिन्न सिद्धान्तलाई पछ्याउँदै तयार पारेको प्रोटोटाइप रिपोर्टलाई वास्तविक रूप दिन त्यति सजिलो थिएन,” आदित्य आचार्य भन्छन्, “हामीलाई ‘एसेम्बल इन नेपाल’ भन्ने ट्याग लगाउनु थियो । अर्को भनेको यो त जसले पनि गर्न सक्छ भन्ने भ्रम हुन्थ्यो ।” सबै कुरा आफ्नै देशबाट खरिद गर्न पाएको भए सो परियोजना अझ उत्कृष्ट हुने उनको भनाइ छ ।

उनीहरूले बनाएको बाइकमा प्रयोग भएका अधिकतम सामग्री वरपर रहेका ग्यारेजबाट संकलित छन् । केही महत्त्वपूर्ण सामग्री भारतको भेन्डरबाट ल्याए । उनीहरूले त्यहाँबाट ब्याट्री, मोटर, कन्ट्रोलर जस्ता सामग्री मगाए । आवश्यक सरसामान ल्याइसकेपछि काठमाडौं नयाँबजारस्थित आरडीएक्स मोटर्समा बाइक निर्माण गर्न थालियो । दुई महिनामा परियोजना पूर्ण रूपमा सम्पन्न भयो ।

“यसको डिजाइन गर्नुअघि विद्युतीय बाइक हाम्रा लागि नितान्त नयाँ प्रयोग थियो,” आचार्य भन्छन्, “हामीले परियोजना शून्यदेखि सुरु गरेकाले यति समय लागेको हो । तर अब तयार पार्नु पर्‍यो भने एक महिनामा हामी चार जनाले मात्रै ५/६ ओटा बाइक तयार पार्न सक्छौँ ।”

कुनै पनि आविष्कार गर्दा त्यसको प्रोटोटाइप (विभिन्न खोज तथा अनुसन्धानपछि तयार पारिएको पहिलो नमूना उत्पादन)) महँगो पर्न जान्छ । सबैभन्दा बढी खर्च खोज तथा अनुसन्धानमा लाग्ने भएकाले प्रोटोटाइप उत्पादनको खर्च धेरै हुने गर्छ । उनीहरूले यो बाइक नेपाली बाटोका लागि उपयुक्त हुने दावी गरेका छन् ।

“हामीले नेपालको बाटोलाई मध्यनजर गरेरै ब्याट्री र मोटर फिट गरेका छौँ,” गड्तौलाले भन्छन्, “हामीले पहिले डिजाइन गर्दा बढी क्षमता भएको मोटर समावेश गरेका थियौँ । तर, त्यसको शुल्क बढी लाग्ने भएकाले हामीले कम क्षमताको ब्याट्री प्रयोग गर्नु परेको छ ।”

‘ब्याड बोइ’मा हब मोटर (पाङ्ग्राका लागि तयार पारिएको मोटर जसलाई सोझै गाडीको पाङ्ग्रामा जडान गर्न सकिन्छ) प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोटरको ‘रेटेड पावर’ दुई किलोवाट छ भने पिक पावर ३.९ किलोवाट रहेको छ । त्यस्तै यसमा भएको ब्याट्रीलाई ‘साइनवेभ कन्ट्रोलर’को सहयोगमा नियन्त्रित गरिएको छ ।

उक्त कन्ट्रोलर ६५ एम्पियर करेन्टको रहेको छ । यसमा प्रयोग भएको ब्याट्रीको क्षमता १९२० वाटआवरको छ । त्यस्तै बाइकमा ‘रिजेनेरेटिभ ब्रेकिङ’ समावेश छ । “अहिलेका प्रायः विद्युतीय बाइकमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग बढिरहेको छ । हामीले पनि यसमा रिजेनेरेटिभ ब्रेकिङ नै प्रयोग गरेका छौँ । जसले गर्दा ब्रेक लगाउँदा ब्याट्री चार्ज हुन्छ,” गड्तौलाले भने ।

डिजाइनका क्रममा बाइकले एक पटकको फुल चार्जमा १०० किलोमिटरको रेन्ज दिने आँकलन गरिएको थियो । तर, त्यसलाई विभिन्न अवरोधले फरक पार्ने हुँदा वास्तविक रेन्ज ६० देखि ७० किलोमिटर पाइएको छ । बाइकलाई चार्ज गर्न तीनदेखि चार घण्टा समय लाग्ने गर्तौलाको भनाई छ ।

उनले भने, “हामीले तयार पारेको एडप्टरबाट चार्ज गर्ने हो भने सामान्यतः तीनदेखि चार घण्टा लाग्छ । तर, फास्ट चार्जर प्रयोग गर्ने हो भने कम समयमै चार्ज गर्न सकिन्छ । फास्ट चार्जिङ प्रयोग गर्दा ब्याट्री बिग्रिने हुँदा सामान्य प्रयोगका लागि यही नर्मल चार्जर प्रयोग गर्नुपर्ने हुन्छ ।”

यसलाई ‘अनरोड’ र ‘अफरोड’मा सहजै गुडाउन सकिने गरि तयार पारिएको छ । आवश्यकता अनुसार यो बाइक जुनसुकै ठाउँमा पनि प्रयोग गर्न सकिने बज्राचार्य बताउँछन् । बाइक अग्लो भएकाले पछाडि सार्न समस्या नहोस् भनेर ब्याक गियर पनि राखिएको छ ।

“यसमा प्रयोग भएका हरेक कुरा वैज्ञानिक तवरमा हरहिसाब गरेर जोडेका छौँ,” बज्राचार्य भन्छन्, “जस्तै, सिटको कुन भागमा बस्दा कतिसम्म प्रेसर पर्छ, सेन्टर अफ ग्र‍ाभिटी कुन ठाउँमा कति लाग्यो भने उपयुक्त हुन्छ, खाल्डोमा कति सस्पेन्सन भयो भने गाह्रो हुँदैन जस्ता कुरा वैज्ञानिक तरिकाले मापन गरिएको हुन्छ ।”

बाइक निर्माणमा हालसम्म दुई लाख ४० हजार रुपैयाँ खर्च भएको आचार्य बताउँछन् । “हामीले हालसम्म प्रति व्यक्ति ६० हजार सङ्कलन गरेर यो बाइक तयार पारेका छौँ,” उनी भन्छन्, “व्यवसायिक रूपमा उत्पादन गर्न सकेको खण्डमा यसलाई दुईदेखि तीन लाख रुपैयाँसम्ममा बजारमा उपलब्ध गराउन सकिन्छ ।”

टिम फ्यारो अहिले लगानीको खोजीमा छ । आफूलाई उपयुक्त हुने लगानीकर्ता भेटे नयाँ कम्पनी सुरु गरेर व्यवसायिक तरिकाले अगाडि बढ्ने योजना रहेको आचार्यले सुनाए । विशेषगरी मध्यम वर्गीय परिवारका नेपाली युवाहरूका लागि यो बाइक उपयुक्त रहेको छ । आचार्य भन्छन्, “हामीले विद्यालय जाँदा गाडीको समस्या भोगेका छौँ । त्यही समस्याको अन्त्य होस् भन्ने हिसाबले यो बाइक निर्माण गरेका हौँ ।” 

यसरी वैज्ञानिक तरिकाले नेपाली बाटो सुहाउँदो गरी बनाइएको बाइक विश्वस्तरमा समेत जान सक्ने उनीहरूको विश्वास छ । औसत प्रति किलोमिटर यात्रा गर्दा लाग्ने पेट्रोलियम बाइकमा ७.५० रुपैयाँ जति खर्च पर्न आउँछ । तर आफूहरूले बनाएको यो बाइकमा प्रति किलोमिटर १२.५ पैसामै यात्रा गर्न सकिने उनीहरूको दावी छ । त्यसैले यो बाइक मध्यम वर्गीय नेपाली परिवार र विद्यार्थीका लागि उपयुक्त हुने उनीहरूको ठम्याई छ । 

अहिले सानो परियोजनाको रूपमा तयार पारिएको ‘ब्याड बोइ’ लाई बजारमा पुर्‍याउने उनीहरूको सपना छ । “हामीले आफ्नो लगावलाई पच्छ्याउँदै यो बाइक तयार पारेका हौँ,” आदित्य भन्छन्, “पक्कै पनि हाम्रो यात्रा यहीँ टुङ्गिँदैन । स्टार्टअप कम्पनी सञ्चालन गरेर बजारमा प्रवेश गर्ने सपना छ । त्यसका लागि हामीलाई लगानीकर्ताको खाँचो छ ।”

उनी अगाडि भन्छन्, “बजारमा रहेका प्रतिस्पर्धीको कमजोरी र हामीले तयार पारेको प्रोटोटाइपको कमजोरीलाई सच्याउँदै नयाँ ऊर्जाका साथ बजार प्रवेश गर्ने हाम्रो उद्देश्य छ ।” देशमै आर्जन गरेको शिक्षा देशकै उन्नतिमा लगाउने ऊर्जाले भरिभराउ टिम फ्यारो टिम दिनानुदिन नयाँनयाँ परीक्षणमा व्यस्त छ । ‘ब्याड बोइ’ लाई अझै सस्तो र भरपर्दो बनाउन उनीहरू चारै जना लागिपरेका छन् । 

सरकारले तोकेका तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड सबै पूरा गरी बाइक निर्माण सम्पन्न गरिएको भए पनि ‘ब्याड बोइ’ हालसम्म आधिकारिक रूपमा दर्ता भने भइसकेको छैन । “हामीले बाइक तयार त पार्‍यौँ । तर, दर्ता गर्न सकेका छैनौँ,” बज्राचार्य भन्छन्, “दर्ता गर्न जाँदा यातायात कार्यालयले आयातको बिल माग्छ । यतै निर्माण गरेको बाइकको ‘इम्पोर्ट इनभ्वाइस’ हामीले कहाँबाट दिने ?” आगामी दिनमा दुई जना बस्न मिल्ने ‘डर्ट बाइक’ तयार पार्ने योजना समेत टिम फ्यारोले बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३