close

कक्षा १२ उत्तीर्णपछि स्नातकमा आईटी पढ्न खोज्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ४ कुरा

टेकपाना टेकपाना

भदौ १८, २०७९ ८:३७

कक्षा १२ उत्तीर्णपछि स्नातकमा आईटी पढ्न खोज्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ४ कुरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । योसँगै माध्यमिक तह उत्तीर्ण विद्यार्थी विश्वविद्यालयको ढोका उघार्न तम्तयार भएर बसेका छन् ।

विद्यार्थीले आफ्नो रूचि अनुसार कुन संकाय र कुन विषय छनोट गर्ने भनेर निर्णय लिन सक्छन् । अहिले अधिकांश विश्वविद्यालयले भर्ना कार्यक्रमको प्रक्रिया थालिसकेका छन् ।

यस्तोमा आज हामी स्नातक तहमा पढाइ हुने विभिन्न शैक्षिक कार्यक्रममध्ये सूचना प्रविधि (आईटी) विषयको चर्चा गर्दैछौं । नेपालमा पनि पछिल्लो समय सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको पाइन्छ ।

कम्प्युटर र सफ्टवेयर प्रविधिको क्षेत्र फराकिलो बनिरहँदा यसमा आधारित नयाँ-नयाँ पाठ्यक्रम बनिरहेका छन् । कम्प्युटर र सूचना प्रविधि सम्बन्धी यस्ता कोर्षहरु कतिपय कम्प्युटर साइन्ससँग नजिक छन् भने कतिपय सूचना प्रविधिसँग सम्बन्धित छन् र कतिपय कम्प्युटर इन्जिनियरिङसँग सम्बन्धित छन् ।

अनि यस्ता काेर्षहरू पढ्न विद्यार्थीका लागि पनि धेरै विकल्प छन् । नेपालमा स्वदेशी विश्वविद्यालयदेखि विदेशका नाम चलेका विश्वविद्यालयका शैक्षिक कार्यक्रम र कलेज छन् । तर धेरैजसाे विद्यार्थी विषय र कलेज छनाैटमा दुविधा पालेर बस्ने गरेका छन् ।

यसकारण हामीले आईटी कार्यक्रम पढ्नुअघि उपयुक्त काेर्ष र कलेजकाे छनाैट कसरी गर्ने भन्नेबारे जानकारी दिँदै छाैं ।

१. सम्बन्धन तथा मान्यताबारे बुझ्नुहोस्

सबैभन्दा पहिले आफूले पढ्न चाहेको कलेज कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको छ, त्यो थाहा पाउनुहोस् । त्यसपछि आईटी कोर्षको पाठ्यक्रम कस्तो छ, पछिल्लो आईटी उद्योगको माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम छ कि छैन, समय समयमा पाठ्यक्रम अपडेट हुने गरेको छ कि छैन, क्रेडिट आवर कतिको छ लगायतका विषयमा गहन हिसाबले बुझ्नुपर्छ ।

यो विषयमा आफू स्पष्ट भइसक्नुभएको छ भने अब आफूले पढ्न लागेको आईटी कोर्षलाई अन्य विश्वविद्यालयले (एक्रिडिटेशन) मान्यता दिन्छ कि दिँदैन, त्याे जाँच्नुहाेस् । साथै अध्ययनका क्रममा अर्को विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्दा क्रेडिट ट्रान्सफर हुन्छ कि हुन्न , त्याे पनि थाहा पाउनुहाेस् ।


२. कलेजकाे पूर्वाधार र सुविधा थाहा पाउनुहाेस्

आफू भर्ना हुन खोजेको कलेजको आन्तरिक अवस्था बुझ्नुहोस् । आफ्नो आईटी करियर सफल हुन कलेजको वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ । कलेजको संरचना, यातायात सुविधा, छात्रवृत्तिको सुविधा, गुणस्तरीय अध्ययनका लागि आवश्यक ल्याब, लाइब्रेरीलगायतका स्रोतको राम्रो व्यवस्था भए नभएकोबारे ध्यान दिनुहाेस् । साथै यसअघि कलेजले ल्याएकाे नतिजा पनि जाँच्नुहाेस् ।

३. इन्टर्नशिप, प्रोफेसनल ट्रेनिङ र जब प्लेसमेन्टकाे सुविधा थाहा पाउनुहाेस्

आईटी आफैंमा व्यवहारिक र प्रयोगात्मक शिक्षा भएकाले कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि कस्ता गतिविधि गर्दै आएको छ, त्यसको अध्ययन गर्नुहोस् । साथै कलेजले आईटी उद्योगका रहेका कम्पनी र संस्थासँग सहकार्य गरेको छ कि छैन भनेर बुझ्नुहोस् । आफ्नो आईटी करियर उद्योगमा स्थापित गर्न कलेजले ठूलो भूमिका खेल्न सक्ने भएकाले यी कुरामा तपाईं चनाखो हुनुपर्छ ।

४. शुल्क बुझ्नुहाेस्

कलेज र आईटी कोर्ष मन परेर मात्रै भएन, शुल्क चित्त बुझेन भने कलेजमा भर्ना हुन सकिँदैन । यसकारण आफूले इच्छाएको कोर्ष पढ्न कुल कति खर्च लाग्छ, छात्रवृत्ति छ कि छैन त्यसको अध्ययन गर्नुहोस् ।

नेपालमा हाल स्नातक तहमा आईटी पढ्न ४/५ लाखदेखि १३/१४ लाखसम्म शुल्क लाग्ने कलेजहरु छन् ।

तपाईंले स्वदेशका विश्वविद्यालय र विदेशका विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजका शुल्क अन्तर भेट्नुहुन्छ । परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर त्यस अनूकुलको कलेज छनौट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३