काठमाडौं । चीनको नेटड्रागन वेबसफ्ट नामक एक गेमिङ कम्पनीले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मानवरूपी रोबोटलाई आफ्नो कम्पनीको सीईओमा नियुक्ति गरेको छ । ताङ् यु नामक उक्त रोबोटलाई कम्पनीले अगस्ट २६ मा आधिकारिक रुपमा नियुक्ति दिएको थियो ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार ताङ् युले कम्पनीको दैनिक कामकारबाहीका लागि आवश्यक विभिन्न निर्णय लिने काममा सहयोग गर्नेछ । साथै कम्पनीको जोखिम व्यवस्थापन प्रणालीमा ताङ् युले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको साथै उक्त रोबोट कम्पनीको बोर्डको लागि रियल-टाइम डेटा सेन्टर एनलाइटिक्स टुलको रुपमा पनि प्रयोग गरिनेछ । यसको साथै कर्मचारीहरूको लागि काम गर्ने वातावरण निर्माण गर्नु पनि ताङ् युको जिम्मेवारीभित्र पर्नेछ ।
आर्टिफिसियल इन्टेलिजेन्स बिनाको आजको प्रविधिको बारेमा सोच्नु अर्थहीन छ भन्दै अबको भविष्यको व्यवस्थापन एआईमा नै निर्भर हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । ताङ् यूको नियुक्तिले कम्पनीको व्यवसाय सञ्चालन गर्ने तरिकालाई रूपान्तरण गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ । कम्पनीले आउने दिनमा आफ्नो कामलाई मेटाभर्समा आधारित कार्य समुदायमा रूपान्तरण गर्ने पनि उल्लेख गरेको छ ।