काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रूपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ । नजिकिँदै गरेको दशैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले यो योजना ल्याएको हो । योजना अन्तर्गत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने छ ।
बैंकका अनुसार यो योजना यही भदौ १५ देखि सुरु भइसकेको छ भने, आगामी कात्तिक १५ सम्म लागू हुनेछ । यस योजनामा बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।
“सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरूप मोबाइल बैंकिङ एपमार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने सुविधा ल्याएका छौँ,” बैंकले भनेको छ, “हाम्रा ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाउन सकुन् भन्ने अपेक्षा अनुरूप यो योजना ल्याएका हौँ ।”
यसका लागि ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको ‘आईरेमिट’ आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर, ठेगाना आदि) तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ । यसरी रेमिटेन्स पठाउँदा दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म पठाउन सकिनेछ ।