close

हावा र पानीको प्रदुषण सोसेर अक्सिजन बनाउने नेपाली प्रविधि, विश्व बजारमा जान सरकारको साथ खोज्दै

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १९, २०७९ १७:५६

हावा र पानीको प्रदुषण सोसेर अक्सिजन बनाउने नेपाली प्रविधि, विश्व बजारमा जान सरकारको साथ खोज्दै

काठमाडौं । च्याउ बायो टेक्नोलोजी प्रालिले वायु तथा पानी प्रदुषण नियन्त्रणका लागि एल्गाई बायो रियाक्टर प्रविधि विकास गरेको छ । करिब दुई महिनाअघि तयार पारिएको मसिन गत बिहीबार ललितपुर पुल्चोक स्थित सडकमा राखिएको छ । 

च्याउ बायो टेक्नोलोजीले माइक्रोएल्गाई (लेउ) प्रयोग गरेर विशेषगरी पानी, वायु तथा ठोस फोहोर प्रदुषण नियन्त्रण गर्ने विभिन्न प्रविधि विकास गरेको छ । कम्पनीले विकास गरेका यस्ता प्रविधिले लेउ प्रयोग गरी फोहोरलाई अक्सिजन तथा बायोमासमा परिणत गर्दछ । 

कम्पनीले पछिल्लो पटक विकास गरेको एल्गाई बायो रियाक्टरले विशेषगरी वायु तथा पानी प्रदुषणलाई कम गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत गुञ्जन घिमिरे बताउँछन् । ‘सोलुसन टु पोलुसन’ (प्रदुणषलाई समाधान) कार्यक्रमसँगै कम्पनीले एल्गाई बायो रियाक्टर प्रविधि सार्वजनिक गरेको हो । 

केही समयअघि व्यापार परामर्शदाता कम्पनी अन्टरप्रेरणा र इन्स्टिच्युट फर लर्निङ सोलुसन भुटानले आयोजना गरेको नौ महिने कार्यक्रम क्लाइमेट एक्सन फर क्लिन एयर (सीएफोरसीए) मा च्याउ बायो टेक्नोलोजी पनि सहभागी थियो । एल्गाई बायोरियाक्टर मसिनमा लेउ राखिएको हुन्छ ।

मसिनले वातावरणमा भएको प्रदुषित कार्बनडाइअक्साइड लिन्छ । त्यसपछि सौर्य ऊर्जाको सहयोगमा त्यहाँ भएको पानी प्रयोग गरी अक्सिजन उत्पादन हुन्छ । सो अक्सिजनलाई एउटा भाँडोमा जम्मा पारिन्छ ।

त्यहाँ भएको प्रदुषित रसायन लेउले प्रशोधन गरेर सञ्चित गरेर राख्छ । यसरी वातावरणमा भएको कार्बनडाइअक्साइड र प्रदुषित पानीलाई एल्गाई बायोरियाक्टरले प्रशोधन गरेर अक्सिजन उत्पादन गरिन्छ । यसरी मसिनबाट पानी र वायु प्रशोधन हुने घिमिरेले बताए ।

“अहिले हामीले बाटोमा राखेको यो मसिनले गुडेका गाडीबाट आएको कार्बनडाइअक्साइडलाई सञ्चित गरेर त्यसलाई फिल्टर गरिरहेको छ,” उनले भने, “हाम्रो चाहना भनेको चाहिँ काठमाडौं, ललितपुर जस्ता सहरमा फोहोर जलाउँदा हुने प्रदुषणलाई नियन्त्रण गर्नु हो ।”

च्याउ बायोटेक्नोलोजीले यो प्रविधि अत्याधिक वायु प्रदुषण हुने विभिन्न ठाउँ जस्तै इँटा उद्योग, सिमेन्ट फ्याक्ट्री र इन्सिनरेसन (फोहोर जलाउने ठाउँ) मा बढी उपयोगी हुने घिमिरे बताउँछन् । यो प्रविधि विभिन्न औद्योगिक क्षेत्रबाट हुने वायु प्रदुषणलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ विकास भएको उनले बताए । 

पुल्चोकको बाटोमा राखिएको एल्गाई बायोरिक्याटरले मासिक एक हजार ७०० लिटर कार्बनडाइअक्साइड प्रशोधन गरी एक हजार ५०० लिटर अक्सिजन उत्पादन गर्ने दाबी गरिएको छ । च्याउ बायो टेक्नोलोजीले एल्गाई बायो रियाक्टरका लागि आवश्यक केही सामग्री विदेशबाट मगाउने गरेको छ ।

सात जना कार्यरत च्याउ बायो टेक्नोलोजीमा चार जना विभिन्न विधाका इन्जिनियर छन् । मसिनलाई फोहोर जलाउने र जल प्रदुषण बढी हुने ठाउँमा राख्न सकिए उपयुक्त हुने घिमिरेको भनाई छ । यसबाट पानीका साथै वायुलाई समेत प्रशोधन गर्न सकिने उनी बताउँछन् ।

“पर्यटक बढी जाने हिमाली ठाउँमा फोहोर बढी हुने गर्छ,” उनी भन्छन्, “यदि त्यहाँ यो मसिनको सहयोगमा फोहोर जलाउन सकियो भने सफा हुन्छ र प्रदुषणका रूपमा आएको कार्बनडाइअक्साइड ग्यास पनि संञ्चित भएर बस्छ । यसो गर्दा वायु प्रदुषण पनि हुँदैन साथै अग्लो स्थानमा अक्सिजन बोकेर लाने झन्झट पनि कम हुन्छ ।”

यस्तै यो प्रविधिलाई विश्वमाझ पुर्‍याउन विभिन्न निकायगत तथा नीतिगत सहयोग आवश्यक रहेको उनले बताए । यो मसिनलाई रुखसँग तुलना गर्दै घिमिरे भन्छन्, “ रूखले जसरी वातावरणमा भएको कार्बनडाइअक्साइड लिएर अक्सिजन दिन्छ, त्यसरी नै यो प्रविधिबाट अक्सिजन उत्पादन गर्न सकिन्छ । तर, भिन्नता के भने यसबाट उत्पादन भएको अक्सिजन सिलिन्डरमा भण्डारण गरेर विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।”

वायु प्रदुषण कम गर्न र आर्थिक हिसाबले राम्रो आम्दानी गर्न दैनिक लाखौँ लिटर कार्बनडाइअक्साइड फिल्टर गर्न आवश्यक रहेको उनी बताउँछन् । यसका लागि सबैभन्दा उपयुक्त ठाउँ नै विभिन्न उद्योगहरू हुन् । त्यस्ता उद्योगमा सरकारले नीति बनाएर वायु प्रदुषण गर्नै नपाउने बनाएको खण्डमा उनीहरूले यस्ता प्रविधि प्रयोग गरेर वायु प्रदुषण कम गर्न सक्ने उनको भनाई छ ।

“हामी माग अनुसार यो मसिन उपलब्ध गराउन सक्छौँ,” उनी भन्छन्, “हामीले माग गरेको रकम पनि उहाँहरू दिन राजी हुनुहुन्छ । तर, यहाँ समस्या सरकारी नीतिमा छ ।”  भण्डारण गरेर राखेको अक्सिजन बजारीकरण गर्न सबैभन्दा ठूलो समस्या रहेको उनी बताउँछन् । त्यसका लागि स्पष्ट नीति नियम बन्नुपर्ने उनको बुझाई छ । 

यसमा आएका विभिन्न बाधा समाधान गर्न सकेको खण्डमा भने यसलाई व्यवसायिक हिसाबले अगाडि बढाउन सकिने घिमिरेले ठानेका छन् । अहिले च्याउ बायो टेक्नोलोजीले विकास गरेको प्रविधिको मूल्य पाँच लाख रुपैयाँ राखिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३