close

एमडीएमएसको ‘सफ्ट लञ्च’ गर्दै प्राधिकरण, अब अवैध मोबाइल नचल्ने

टेकपाना टेकपाना

भदौ २०, २०७९ १५:२८

एमडीएमएसको ‘सफ्ट लञ्च’ गर्दै प्राधिकरण, अब अवैध मोबाइल नचल्ने

काठमाडौं । नेपालमा अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित सञ्चालनमा आउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ‘सफ्ट लन्च’ आउँदो शुक्रबार हुने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भदौ मसान्तदेखि औपचारिक रुपमा कार्यान्वयनमा ल्याउन लागेकाे याे प्रणालीकाे पूर्वतयारी स्वरूप सफ्ट लञ्च गर्न लागिएकाे हाे ।

“अहिले हामी सफ्ट लन्चको तयारीमा छौं । यसपछि निर्धारित समयबाटै एमडीएमएसको व्यावसायिक सुरुवात हुनेछ । यसको कार्यान्वयनको विषयमा थप छलफल भइरहेको छ,” प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले टेकपानासँग भने ।

नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो ।

गत वर्ष नै कार्यान्वयनमा आउने भनिए पनि प्राविधिक तयारी नपुगेकाले पूर्ण रुपमा यो प्रणाली लागू भएको थिएन ।

हाल व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था छ ।

यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३